सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे

सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे

ठिनी, मुस्ताङ, पुस १८ गते ।

सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिनुभयो ।

सन् २०१८ मा ५९ हजार ८३८, २०१७ मा ५२ हजार ४७५ र २०१६ मा ३९ हजार १७ ले मुस्ताङ भ्रमण गरेका थिए । पुरानो पदमार्ग सडकमा परिणत भएको र उपल्लो मुस्ताङ भ्रमणको शुल्क महँगो भएका कारण पर्यटक आगमनमा असर परेको लोमान्थाङका होटल व्यवसायी रामबहादुर गुरुङले बताउनुभयो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । मे महिनामा १२ हजार १४० र अप्रिलमा १० हजार २६६ भित्रिएको तथ्याङ्क छ । जनवरीमा ५०५, फेब्रुअरीमा ४४५, मार्चमा पाँच हजार ३७८, जुनमा तीन हजार ६१०, जुलाईमा दुई हजार १४०, अगस्टमा दुई हजार २७८ आएका छन् ।

यसैगरी सेप्टेम्बरमा पाँच हजार ११८, नोभेम्बरमा पाँच हजार ८६२ र डिसेम्बरमा एक हजार ८९ ले मुस्ताङ घुमेका छन् । मुस्ताङ भ्रमण गर्ने पर्यटकमा सार्क मुलुकका पर्यटक बढेका छन भने पश्चिमी देशका पर्यटक आगमन घटेको देखिएको छ । करिब चार हजार पर्यटक अर्धनिषेधित क्षेत्र मानिएको उपल्लो मुस्ताङ घुम्न गएका छन् ।

माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन् । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो ।

मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा करिब ३०० होटल तथा लज सञ्चालनमा छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो ।

पोखरा–जोमसोम हवाई र म्याग्दीदेखि बेनी–जोमसोम सडक भएर मुस्ताङ पुग्न सकिन्छ । पर्यटकको बसाई अवधि र आकर्षण बढाउन सडकमा परिणत भएका पदमार्गको विकल्पमा नयाँ पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको एक्याप जोमसोमका प्रमुख दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्