धनकुटामा सम्पन्न महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई

धनकुटामा सम्पन्न महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई

धनकुटा । सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेतामा सीमित एपीएफले एक लाखमा चित्त वुझायो।

आर्मीको जितमा रश्मी घिसिङ, पूजा राना मगर र निशा बोहराले गोल गरे। एपीएफकी मञ्जु थिङले मात्रै गोल गर्न सकिन्। सावित्रा भण्डारी, अनिता बस्नेत र गीता राना मगरको प्रहार बाहिरिएको थियो। निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। लगातारको वर्षाले खेल मैदान हिलाम्मे भएपछि अतिरक्त समय नखेलाई सोझै पेनाल्टीबाट निर्णय लिइएको थियो। हुस्सु लागेका कारण दुवै टोलीका खेलाडीलाई पेनाल्टी प्रहार गर्न अप्ठयारो परेको थियो।

आर्मीका खेलाडीले एपीएफकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई सुरुवातदेखि नै मार्किङ गरेका थिए। जसका कारण सावित्राले गोल गर्न सकिनन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सावित्रा भण्डारी घोषित भइन्। फाइनल खेलको वुमन अफी म्याच आर्मीकी पूजा राना मगर भइन्। यस्तै एपिएफकी रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, गीता रानामगर उत्कृष्ट डिफेन्स, आर्मीकी रश्मि घिसिङ उत्कृष्ट फरवार्ड र चक्र तामाङ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए। सात गोल गरेकी आर्मीकी सर्मिला थापामगर सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर अञ्जना रानामगर घोषित भए। उदयीमान खेलाडी आयोजक धनकुटाकी सुस्मिता राई घोषित भइन्। विधागत तर्फका सबै खेलाडीले नगद पाँच÷पाँच हजार पुरस्कार प्राप्त गरे।

आर्मीका प्रशिक्षक चक्र तामाङले रणनीति अनुसार खेलाडीले खेलेकाले जित सम्भव भएको बताए। एपीएफका प्रशिक्षक जनक सिंहले हिलाम्मे मैदान र मुख्य फरवार्डले गोल गर्न नसक्दा पराजित हुनुपरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्