पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको भीड

पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको भीड

धनकुटा । पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको भीड लागेको छ । केही दिनदेखि पूर्वी पहाडी जिल्लाका उच्च क्षेत्रमा लगातार हिउँ परिरहेको छ ।

हिउँमा रमाएर फोटो खिच्न आउनेहरूको संख्या केही दिनयता अत्यधिक बढेको स्थानीयको भनाइ छ । तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, सोखुखुम्बुलगायतका जिल्लामा बाक्लो हिउँ परेको छ । धरानबाट ३ घण्टाको यात्रापछि हिउँ परेको स्थानमा पुगिन्छ । शनिबार र आइतबार हजारौं आन्तरिक पर्यटकहरू हिउँ खेल्न धनकुटाको सिधुवादेखि तेह्रथुमको वसन्तपुरसम्म पुगेका थिए । त्यसक्षेत्रमा पर्ने चित्रेडाँडा, पटकेडाँडादेखि मिल्के भन्ज्याङसम्मका सडक र डाँडाहरू सेताम्मे भएका छन् । यसक्षेत्रमा शुक्रबारदेखि हिमपात सुरु भएको थियो । तीनजुरे क्षेत्रमा हिउँ खेल्न सुनसरी, मोरङ, झापालगायतबाट गाडी नै रिजर्भ गरेर आन्तरिक पर्यटकहरू गइरहेका छन् ।

हिउँ परेपछि स्थानीय पर्यटन र होटल व्यवसायीसमेत उत्साहित भएका छन् । सरकारले घोषणा गरेका भ्रमण वर्षलाई हिउँले समेत साथ दिएको छ । तेह्रथुमको उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । यस वर्ष दोस्रोपटक परेको हो । पूर्वी तराई र भारत विहारबाट नजिकै रहेको तीनजुरे, मिल्के, जलजले क्षेत्रमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक आएको व्यवसायी छिरिङ लामाले बताउनुभयो । तीनजुरे, पटेकडाँडा, मेन्छयायाम डाँडालगायत स्थानबाट सूर्योदय, सूर्यास्त र हिमालको सुन्दर दृश्य देखिने गरेका कारण पर्यटकहरू झनै रमाउने गरेका छन् । यस क्षेत्रबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथालगायतका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफूलको वाइन, गुराँसको जुस, ढाका र खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटीलगायत कोसेलीका रुपमा लैजाने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्