एक सय २२ चिनियाँ नागरिकलाई अब अध्यागमन कानुन अनुसार कारवाही, देश निकालाको तयारी

एक सय २२ चिनियाँ नागरिकलाई अब अध्यागमन कानुन अनुसार कारवाही, देश निकालाको तयारी

काठमाडौं । नेपाल बसेर चीनमा इन्टरनेट मार्फत अपराधका घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई प्रहरीले अध्यायमन विभागको जिम्मा लगाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमनको जिम्मा लगाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ परेका सबैलाई प्रहरी अनुसन्धान सकेर अध्यागमनको जिम्मा लगाइएको जानकारी दिए ।

‘प्रहरीतर्फको अनुसन्धान सकियो, उनीहरुले अध्यागमनसम्बन्धी कानून उल्लंघन गरेकाले अध्यागमन विभागको जिम्मा लगाएका छौं,’ परिसर प्रमुख सुवेदीले राजधानीसँग भने ।
नेपाल र चीनको संयुक्त अपरेशन मार्फतको कारबाहीमा पक्राउ परेका उनीहरुलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्दै आएको थियो ।

प्रहरी अनुसन्धान सकिएपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई प्रत्येक व्यक्ति बराबर १ हजार रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका चिनियाँ नागरिकहरुले भिसा दुरुपयोग गरेको पाइएकोले सो बारे अनुसन्धान हुने बताए ।

‘पक्राउ परेका चिनियाँ नागरिकहरुले भिसा दुरुपयोग गरेको पाइएको छ, उनीहरुमाथी विभागमार्फत थप अनुसन्धान हुन्छ ।’ अध्यायमन विभागका महानिर्देशक पौडेलले भने ।
काठमाडौं परिसरका प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका मध्ये ३० जनासँग मात्र पासपोर्ट छ । अन्यसँग भने पासपोर्ट भेटिएको छैन ।

अध्यागमन विभागले पासपोर्ट नभएकाहरुको विषयमा समेत सम्वन्धित राजदुतावाससँगको सहकार्यमा आवश्यक कागजात तयार गर्ने छ ।

आफ्नो अनुसन्धानपछि विभागले १ सय २२ जनालाई नै अध्यागमन कानुन उल्लंघन गरेको भन्दै देश निकाला गर्नेछ । त्यसका लागि अध्यागमनले आवश्यक कागजात नभएकाहरुको दुतावाससँगको समन्वय मार्फत ट्राभल डकुमेण्ट बनाउने छ भने त्यसपछि उनीहरुलाई स्वदेश फिर्ता पठाइने प्रक्रियामा विभाग जानेछ । प्रहरीले उनीहरुलाई राजधानीका बुढानिलकण्ठ, महाराजगंज र मनमैजुका ९ वटा घरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्