‘पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य’ – नेपाल प्रहरी

‘पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य’ – नेपाल प्रहरी

देवबहादुर कुँवर

काठमाडौँ, पुस २० गते ।

पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्रीका अनुसार साँझपख बास बस्न आएका पाहुनालाई भगवान् मान्ने, विदेशी नागरिकप्रति सम्मान गर्ने मौलिक संस्कारका कारण नेपाल पर्यटकका लागि आकर्षक मात्र नभई सुरक्षित गन्तव्य बन्न पुगेको हो । नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भसँगै भ्रमणमा आउने पर्यटकको शान्तिसुरक्षा, सुरक्षा सुविधा तथा सहजीकरणका लागि पर्यटक प्रहरीको जनशक्ति बढाइएको छ ।

प्रहरी उपरीक्षक (एसपी)को नेतृत्व (कमान्ड)मा ५१ जना पर्यटक प्रहरीको दरबन्दी थप गरिएको हो । यसअघि प्रहरी निरीक्षकको कमान्डमा घुम्ती पर्यटक प्रहरी सेवा सञ्चालन हँुदै आएको थियो । पर्यटक प्रहरीको जनशक्ति बढेसँंगै १६ स्थानमा पर्यटक प्रहरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने योजना रहेको छ । त्यस्तै एक सय स्थानलाई ‘पर्यटकीय गन्तव्यस्थल’का रूपमा राखिएको छ ।
नयाँ गन्तव्यको पहिचानसँंगै २० लाख पर्यटकको सुरक्षा र सहजीकरणका लागि ती स्थानमा पर्यटक प्रहरी सेवा विस्तार गर्न थप दरबन्दीबाट सहज हुने अपेक्षा गरिएको छ । नेपाल पर्यटन विकास बोर्डका अनुसार एक महिनामा ९० हजार पर्यटक नेपाल भ्रमणमा आउने गर्छन् । तीमध्ये १० प्रतिशतले कुनै न कुनै किसिमको गुनासो र समस्या लिएर आउने गर्छन् । उनीहरूका लागि पर्यटक प्रहरी सेवा अनिवार्य भएको छ ।

यात्राका क्रममा पैसा, पर्स, राहदानी हराउने, कहिलेकाहीँ पर्यटक नै हराउने, खर्चको अभाव र बिरामी भएर अलपत्र पर्ने, होटल तथा रेस्टुराँको बिल नतिर्ने, झगडा गर्ने, जानी नजानी प्रचलित कानुन उल्लङ्घन गर्नेजस्ता समस्या समाधान गर्न पर्यटक प्रहरीको महìवपूर्ण भूमिका हुने गरेको छ ।
घुम्ती पर्यटक प्रहरी सेवा पूर्वप्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत नेपाललाई विश्वकै सुरक्षित, सहज र व्यवस्थित गन्तव्यस्थल बनाउन पर्यटकसँंग सम्बद्ध सरोकारवाला निकायसँंगै पर्यटक प्रहरीको लगनशीलता र सक्रियता एउटा पक्ष भएको बताउनुहुन्छ । भ्रमण वर्ष २०२० ले निर्धारण गरेका एक सय गन्तव्य स्थानमा पर्यटक प्रहरीको अभाव खड्किएको छ तर पनि तत्काल १६ स्थानमा राख्नैपर्ने बाध्यता छ ।
उहाँका अनुसार हाल उपत्यकाभित्र र बाहिर गरी १७ स्थानमा पर्यटक प्रहरी सेवा छ । सुन्दर सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा, खप्तड, महेन्द्रनगर, धनगढी र कर्णाली प्रदेशका रारा, जुम्ला, सुर्खेत, हुम्ला, प्रदेश १ को ताप्लेजुङ, सङ्खुवासभाको ओलाङ्चुङगोलामा तत्कालै पर्यटक प्रहरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ ।

पर्यटकको महìवपूर्ण कागजपत्र, झोला, क्यामेरा, मोबाइल आदि सामग्री हराएमा त्यसको खोजीका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न र त्यसको बीमा रकम दाबी गर्न आवश्यक पर्ने कागजपत्र तयार पार्न पर्यटक काठमाडौँमै आउनुपर्ने बाध्यता छ । पर्यटकसँंग सम्बन्धित ससानो समस्याको समाधान, सूचना तथा सहजीकरण गर्न पर्यटक प्रहरी सेवा प्रभावकारी रहेको छ ।
पर्यटक प्रहरीको विस्तारसँगै पर्यटकीय सूचना केन्द्रबाट भ्रमणका क्रममा बोक्नुपर्ने कागजपत्र, नियमको पालना र सुरक्षा सतर्कताबारे जानकारी दिन सहज हुन्छ । यसका लागि पर्यटक प्रहरीले ‘टुरिस्ट पुलिस नेपाल’ एप्स सञ्चालनमा ल्याएको छ । यो एप्समा पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सूचना समेटिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै पर्यटकले सो एप्सका बारेमा जानकारी लिने गरेको पर्यटक प्रहरी नायब निरीक्षक अमृत तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्