भद्रपुर । भद्रपुरस्थित मेची नदीमाथि निर्माण गरिएको मेची पुल सञ्चालनमा आएको झण्डै एकवर्ष बित्न लाग्दा समेत पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) निर्माण गरिएको छैन। नेपाल-भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी-व्यवसायी चिन्तित बनेका छन्। कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम्पन्न गराउन स्थानीय सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, नेपाल-भारतमैत्री संघले दुवै देशका सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउँदै आएका छन्। २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्दै चाँडै पुल जोडने दुवैतर्फको रोड बन्ने आश्वासन जनता दिएका थिए। तर अझैसम्म प्रधानमन्त्रीको आश्वासन कार्यान्वयन भएको छैन।
तीनबुँदे माग राख्दै विहारका मूख्यमन्त्रीलाई ज्ञापनपत्र
मेची पुल जोड्ने भारततर्फको 'एप्रोच रोड' निर्माणमा ढिलासुस्ती भएको भन्दै नेपाल-भारत मैत्री संघ झापाले राख्दै विहारका मुख्यमन्त्री नीतिश कुमारलाई तीनबुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्। विहार सरकारको सीमा विकास कार्यक्रमअन्तर्गत किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्जमा महाभारतकालीन भातढाला पोखरीको सुन्दरीकरण र पार्कको उद्घाटन गर्न आएका बेला नेपाल-भारत मैत्री संघका पूर्व अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्री नितीश कुमारलाई भेटेर लिखित ज्ञापन पत्र बुझाएका हुन्।
मुख्यमन्त्री कुमारलाई मेची पुल जोडने एप्रोच रोड, गलगलिया भन्सारको स्तरवृद्धि र गलगलिया रेल्वे स्टेसनको स्तरवृद्धि सम्बन्धमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीप रेग्मीले जानकारी दिए। नेपालबाट गएको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष विश्वनाथ श्रेष्ठ, उपाध्यक्ष यामबहादुर श्रेष्ठ, सचिव गणेश पोखरेल, उद्योगी चण्डी पराजुली, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, पत्रकार चिन्तामणि दाहाल लगायत गएका थिए।
भारततर्फ एप्रोच रोडको ठेक्का आव्हान
भद्रपुर र गलगलियाका सांसद, राजनीतिक दल र उद्योगी व्यवसायीको पटक पटकको दबाबपछि बल्ल पुल जोडने 'एप्रोच रोड'को ठेक्का आव्हान भइसकेको मुख्यमन्त्री नितीश कुमारलाई ज्ञापन पत्र बुझाउन गएको नेपाली प्रतिनिधि मण्डललाई त्यस क्षेत्रका सांसद (विधायक) नौशाद आलमले जानकारी दिए। 'नेशनल हाइवे ३२७ एनएचसँग मेची पुलसम्म जोडने ४.६ किलोमिटर एप्रोच रोडका लागि १७ करोड भारतीय रुपैयाँमा बन्ने सडकको ठेक्का आव्हान भइसकेको जनाइएको छ। यही जनवरी २९ तारिखमा टेण्डर खोलिन्छ', सांसद आलमले भनेका छन्, 'त्यसको एक महिनाभित्र रोडका काम सुरु हुन्छ।' साथै भद्रपुर र गलगलियाको विकासका लागि मैत्री संघको प्रतिनिधि मण्डललाई मुख्यमन्त्री नितीश कुमारले विस्तृत कुराकानी गर्न विहारको राजधानी पटना बोलाएको उनले जानकारी दिए।
पुल जोड्ने नेपालतर्फको सडक पनि अनिश्चित
मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापाचोकसम्म कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँले टेन्डर लगाएको झन्डै डेढ वर्ष बित्न लाग्यो। २०७५ असार २८ गते निर्देशनालयले १२९० मिटर सडक निर्माणका लागि करिब साढे ५ करोडमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरसँग सम्झौता गरे पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन। हुलाकीले सडक विस्तार गर्दा दायाँबायाँ १५/१५ मिटर र थप ६/६ मिटर 'साइट ब्याकअप' हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ। ठेक्का लागेको सडक साढे ७ मिटर फराकिलो हुनेछ। सडकदेखि २१ मिटर जमिन स्थानीयले छाड्नुपर्ने अवस्था सृजना भएपछि सडक निर्माणमा विवाद देखिएको हो। २१ मिटर जमिन छाड्दा सरकारले मुआब्जा समेत नदिने भएपछि सडक आसपासका स्थानीयले आन्दोलित भएका छन्, यसले निर्माण कार्य नै अनिश्चित बनेको छ। सडक विस्तारको नाममा स्थानीयलाई उठीबास लगाउँदै विस्थापित गर्न खोजिएको भन्दै स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन्। स्थानीयको अडानका कारण सडक निर्माण प्रभावित भएको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताए। ‘मुआब्जा विवादले सडकको काम प्रभावित बनेकोले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्छ’, उनले भने, ‘नालासहित ३० फुटको सडक र एक मिटर 'साइड व्याकअप'को विकल्प नै स्थानीयको लागि उचित हुन्छ। यसका लागि नगरपालिकाको बोर्ड बैठकमा निर्णय गरेर अघि बढे समस्याको समाधान निस्कन्छ।’ यो निर्णय गरिए आन्दोलित बनेका स्थानीय पनि सहमत हुने कार्कीले दाबी गरे। मुआब्जा विवादले सडकको निर्माण कार्यमा ढिलासुस्ती भएको हुलाकी राजमार्ग क्षेत्रीय कार्यालय इटहरीका सब इन्जिनियर सुरेन्द्र यादवले जानकारी दिए।