प्रदेश नम्बर १ को “जेफाले” : एक पटक घुम्नै पर्ने ठाँउ

प्रदेश नम्बर १ को “जेफाले” : एक पटक घुम्नै पर्ने ठाँउ

भूमिका पाख्रिन
अंग्रेजी वर्ष २०२० सुरु भए सँगै नेपाल भ्रमण वर्षको सुरुवात भईसकेको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएकोमा यता प्रदेश १ सरकारले भने ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिरहेको छ । प्राकृतिक रुपमा विविधताले भरिपूर्ण प्रदेश १ मा घुम्न लायक थुप्रै ठाँउ छन् । यद्यपी अत्यन्तै सुन्दर, मनमोहक भएर पनि मोरङकै केराबारी स्थित जेफाले प्रदेश १ कै सर्वसाधारणका माझ पनि उति परिचित नहुृनु आफैमा दुखद् छ ।

पूर्वपश्चिम राजमार्गबाट करीब ३५ किलोमिटरको दुरीमा पर्ने जेफाले गाँउ साविकको सिंहदेवी गाविस र हालको केराबारी गाँउपालिका वडा नं. २ मा पर्दछ । धेरै वर्ष अघि यस ठाँउमा ठुला चौरहरु रहेको र उक्त चौरमा गाईबस्तु चराउने गोठालोहरुले ढुंगाको जेफालो बनाई शिकार गर्ने गरेकाले कालान्तरमा जेफाले रहन गएको स्थानीयबासीहरुको भनाई छ । अधिकांश जनजाती समुदायको बसोबास रहेको जेफाले गाँउमा मगर, राई, लिम्बू जातीको बाहुल्यता रहेको छ भने यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । प्रकृतिको अनुपम नमुना जेफालेको जति प्रशंसा गरे पनि ति शब्द कमै लाग्छन् । जेफाले डाँडामा निर्मित भ्यु टावरबाट १६ जिल्लाका हिम श्रृंखला देखिन सक्नु जेफालेको मुख्य विशेषता हो ।

१९ सय ७० मिटर उचाईमा रहेको भ्यू टावरबाट जेफाले गाँउ साथै आसपासका क्षेत्र सुन्दर त देखिन्छ नै, मनै लोभ्याउने हिम श्रृंखलाले सुनमा सुगन्ध थपेकोे छ । छिन छिनमा हुने मौसमको फेरबदल जेफालेको अर्को विशेषता हो । किनकी हुस्सुले छोपिएको जेफाले गाँउ क्षणभरमै टन्टलापुर घाममा रुपान्तरित हुन्छ । मौसमको फेरबदलले जेफालेको सुन्दरता झन बढाएको छ । जेफाले आसपासका जिल्लाका लागी उती टाढा हैन । यद्यपी घुमघाम सकी जेफाले मै बस्न चाहनेहरुका लागी यहाँँ होम स्टेका व्यवस्था छ । सडक विस्तारका कारण पर्यटकको संख्या दिन प्रति दिन बढ्दो क्रममा रहेता पनि सडक सुविधा त्यति सहज नहुँदा जेफालेले भनेजती न त पर्यटक पाएको छ, न त प्रचार नै । मुख्य बाटोका रुपमा पूर्वपश्चिम राजमार्गस्थित खोर्सानेबाट केराबारी बजार हुँदै बस यात्रामा करीब २ घण्टामा जेफाले पुग्न सकिन्छ । यद्यपी कच्ची पहाडको बाटो उति सहज भने पक्कै छैन । यात्राकै क्रममा पर्ने सुन्दर तर भौगोलिक कठिनाईको सामना गरिरहेको बत्तिसजुरे पाहाड पार गर्न निक्कै कठिन छ । केराबारी बजार बाहेक सुनसरीको धरान, भेडेटार र राजारानीको बाटो हुँदै पनि जेफाले पुग्न सकिन्छ । दुरीका हिसाबले धरानको बाटो केही टाढा भएतापनि केही मात्रामा भएपनि बाटो सहज छ ।

केराबारी बजार र जेफाले जोेड्ने सडक खण्ड मर्मत कै क्रममा रहेको छ । यो बाटो निर्माण कार्य सम्पन्न भए पश्चात पर्यटकको आवागमनमा वृद्धि त हुन्छ नै, यहाँका बासिन्दालाई पनि अझ सहजता हुने. केराबारी गाँउपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भूजेल बताउछिन् । यद्यपी जस्तोसुकै परिस्थितिहरु छिचोल्दै जेफाले पुगेपछि यात्राका कठिनाईहरु फिक्का लाग्छन् । जेफाले भौगोलिक रुपमा सुन्दर त छदैछ, यहाँका संस्कृति परम्परा, पाहुनालाई गर्ने स्वागत सत्कार पनि गज्जब कै छ । धार्मिक तीर्थ यात्राको लागी पनि जेफाले आकर्षक गन्तब्य हो । यहाँ अवस्थित शिव मन्दिरमा भत्तजनहरु आउने गरेका छन् । मोरङ र धनकुटाको सीमानामा पर्ने उत्त क्षेत्रमा करीब २०० रोपनी जग्गा नै छुट्याएर जेफालेलाई प्रमुख पर्यटकीय गन्तब्य बनाउने उदेश्य सहित आफूहरु अगाडि बढेकोे जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्ली शर्मा अधिकारी बताउछन् ।

हाल डी.पी.आर.को क्रममा रहेकाले उक्त क्षेत्रमा जैविक विविधताको संग्राहलय सहित धार्मिक पर्यटन सहितको विकास गर्नका लागी हाल काम भइरहेको अधिकारीको भनाई छ । उदाउँदो सूर्य हेर्न र अस्ताउदो सूर्यको दृश्यावलोकन जेफाले आउनुको अर्को कारण हो । भ्यु टावरबाट देखिने सूर्योदयले जो कोहीको मन लोभ्याउछ । त्यसो त, सूर्यास्तको दृश्य पनि कम छैन । विविधताले भरीपूर्ण जेफाले वास्तब मै स्वर्गको एक टुक्रा भन्दा फरक नपर्ला । यातायातको सुविधालाई चाडो भन्दा चाडो व्यवस्थापन गर्न सके जेफालेको सुन्दरतालाई नियाल्न जो कोहीलाई सहजता हुने थियो की ? त्यसो त बाटोको सुविधा हुँदा पर्यटकको संख्यामा पनि ह्वात्तै वृद्धि हुनेमा दुई मत छैन । यस तर्फ तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्