प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन

प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन

धरान । प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा सुनसरीको धरानमा शुक्रबार आयोजित एक कार्यक्रममा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो।

यसक्रममा एन्फा विधानको परिच्छेद ४ को धारा २१ दफा ‘ग’ अनुसार प्रदेश एक फुटबल संघमा अध्यक्ष राईसहित १९ जनाको कार्यसमिति चयन भएको छ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले संघीयतापछिको नयाँ अभ्यासका क्रममा संघको गठन गरिएको भन्दै संघको कार्यकालका लागि शुभकामना दिए। उनले गठित टोलीले मोफसलमा फुटबलको जग थप बलियो बनाउने अपेक्षा गरेको बताए।

विकेन्द्रकरणको आधारमा फुटबलको विकास गर्ने नीति अनुसार अघि बढेको बताएका शेर्पाले प्रदेश कमिटीले फुटबलको विकास सँगसँगै जिल्ला र केन्द्रबीच पुलको काम समेत गर्नेमा जोड दिए। नवगठित संघले प्रदेश एकमा फुटबलको गतिविधि समयमा हुने र फुटबलको सक्रियता थप बढ्ने उनको बुझाइ छ।

त्यसैगरि, अध्यक्ष किशोर राईले प्रदेश एकमा ६ महिनाको अवधिमा एन्फा मातहतमा रहेका ११ जिल्लाको समावेशी विधान निर्माणमा जोड दिने बताए। उनले भने, ‘सोही आधारमा निर्वाचनको आधार तयार हुन्छ।’

त्यसैगरि राईले प्रदेश एकमा एन्फा मातहतमा नरहेका ३ जिल्लालाई समेत समेट्नका लागि पहल गर्ने बताए। संघले आउँदो एक वर्षमै फुटबलमा फरक स्वाद पस्कने विश्वास लिएका राईले फुटबलमा आमूल परिवर्तन देखिने दावी गरे।

उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार, नीजि क्षेत्र, राजनीतिक दललाई समेटर प्रदेश लिग, जिल्ला लिग, गोल्डकपलाई थप गतिशील र विकसित गराउनेछौँ।’

एन्फाको पूर्वउपाध्यक्ष समेत रहिसकेका राई धरानस्थित धरान फुटबल क्लबका अध्यक्ष समेत हुन्। लामो समयदेखि फुटबलको विकासमा खटिएका राईको नयाँ कार्यसमितिमा भोजपुरका प्रविण सुवाल, मोरङका दीपक श्रेष्ठ, पाँचथरका सुरेश शाह र गणेश राई उपाध्यक्ष रहेका छन्।

त्यसैगरि संघको महासचिवमा झापाका भागिरथ आले र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ रहेका छन्। संघको सचिवमा सुनसरीका नविन राई रहेका छन्।  कार्यसमितिमा महिलातर्फ लिला सुब्बा र आशा राईसहित १० सदस्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्