झापा लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै

झापा लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै

झापा । झापा लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाकोे तथ्याङ्कअनुसार झापामा आर्थिक वर्ष ०७४-०७५ देखि गत मंसिरसम्म ४ सय ७६ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ सय ५१ जना नेपाली नागरिक छन् । यो अवधिमा १९ जना विदेशी नागरिक रहेका छन् भने ६ जना फरार छन् ।
झापा प्रहरीको तथ्याङ्क अनुसार पक्राउ पर्नेमा ४०७ पुरुष, २९ जना महिला र ५० जना बालक रहेका छन् । आगुऔषध ओसारपसारमा संलग्न पक्राउ पर्नेमा १६ वर्षसम्मका १३ जना रहेका छन् । लागूऔषध कारोबारीमा १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका मानिस बढी सक्रिय छन् । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ४ सय ३९ जना रहेका छन् । त्यस्तै ४५ वर्षदेखि माथिका ४५ जना रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । लागूऔषधको दुरुपयोको समस्या दिनानुदिन बढीरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागू औषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ । लागूऔषध ग्रामीण क्षेत्रबाट भन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्यांकले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको हो । लागूऔषध प्रयोगले शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परिरहेको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । तथ्याङ्कलाई हेर्दा झापामा लागूऔषध प्रयोगकर्ता धेरै रहेको श्रेष्ठ बताउँछन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार किशोरावस्थामा नै कुलतमा फस्ने गरेका छन् ।

पूर्वी नाका काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज नाकाबाट लागूऔषध झापा भित्रिन्छ । प्रहरीले अपराध नियन्त्रणमा आक्रमक तरिकाले कामलाई अगाडि बढाएको बताउँदै आए पनि गत मंसिरमा जिल्लामै पहिलो पटक ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई व्यक्ति गौरादह नगरपालिका –३ धोबिनिया चोकबाट पक्राउ परे । गौरादह नगरपालिका –३ बस्ने ३२ वर्षीय सुनिल बरालले हर्लिक्सको बट्टामा लुकाएर लैजादै गरेको अवस्थामा तीन सय ५२ ग्राम ३१ मिलिग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित एउटा मोबाइल, बा ८१ प ६२४० नम्बरको स्कुटर र बा ३ च ९२५५ नम्बरको कार बरामद गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । प्रहरीले गौरादहमा बराललाई पक्राउ गरेलगत्तै दमक नगरपालिका–४ स्थित मान्जा होटल एण्ड लजको कोठ नम्बर–१०१ बाट भारतको मुरसीदावाद जिल्लाको थाना लालगोला पोष्ट बासघरा ग्राम दक्षिण नोतिबोपाशका २७ वर्षीय टुटुल भनिने रिन्टु सेखलाई दुई सय १७ ग्राम ६७ मिलिग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित एक थान मोबाइलका साथै १३ हजार नेपाली नोट बरामद गरेको डिएसपी पण्डितले जानकारी दिए ।

गृहमन्त्रालयको तथ्याङ्कमा लागूऔषध कारोबारीमा काठमाडौँ पहिलो स्थानमा छ भने झापा तेस्रो स्थानमा रहेको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै लागूऔषध कारोबारीले विभिन्न स्थानबाट नेपालमा लागूऔषध भित्र्याउने गरे पनि पछिल्लो समय प्रहरीको सक्रियाले पक्राउ पर्नेको संख्या पनि बढ्दै गएको पण्डित बताउँछन् । दमकमा लागूऔषध प्रयोगकर्ता समेत उच्च रहेकोले यस क्षेत्रमा निगरानी बढाएसँगै धमााधम लागूऔषध कारोबारी पक्राउ पर्न थालेको पण्डितले जानकारी दिए ।
लागू औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागू औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागूऔषध बुझिने प्रहरीले जनाएको छ । विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरेर सचेत गराउँदै लागूऔषध दुव्र्यसनी घटना आफूहरू लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालले बताए । झापाका शहरी क्षेत्र काँकडभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमक लगायतका क्षेत्रमा लागूऔषध प्रयोगकर्ता बढी हुन सक्ने प्रहरीले जनाएको छ । “पहिलेभन्दा पक्राउको संख्यामा बृद्धि भएको छ,” उनले भने, “जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधमा संलग्नलाई सचेतना पनि प्रदान गर्दै आएको छ ।” झापा प्रहरी अवैध ओसारपसार नियन्त्रणमा नाकामा नियोजना बनाएर अघि बढेको कोइलारा बताउँछन् । स्थानीय तहसँग मिलेर सुधारकेन्द्र बनाउने योजना बनाएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
खुला सिमानाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागूऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायतका लागूऔषध नेपाल आउँछ । नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिमाणमा भारततर्फ तस्करी हुने गर्छ । सङ्गठित रुपमा हुने लागूऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आएको छ । तर, तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको छ । अहिले देशभर दुव्र्यसनीको सङ्ख्या दुई लाखभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागूऔषध कारोबारमा सक्रिय छन् ।
जति पनि औषधीजन्य लागूऔषध नेपाल भित्रिएको छ, त्यो सबै भारतबाट नै भित्रिएको प्रहरीको भनाइ छ । विदेशी नागरिकले लागूऔषध नेपालको सिमानासम्म ल्याइदिन्छन् । त्यहाँबाट भने नेपालीले लागूऔषध स्थानीय स्तरमा पु-याउने गरेका छन् । जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गर्ने डरले नेपालीले शरीरका विभिन्न भाग, भाडाको गाडी, अन्य सामान बोक्ने सवारीमा लुकाएर लागूऔषध नेपाल भित्र्याइने गरेका छन् । नेपालमा गाँजा र अफिम उत्पादन हुने गर्छ । यस्तो लागूऔषध चीन र भारतको पु¥याउने गरेको प्रहरीको भनाइ छ । नेपाली कृषकलाई भारतीय तस्करले गाँजा र अफिम खेती गर्नका लागि बीउ, मल, पैसा दिने गरेको कारण लागूऔषध नियन्त्रण थप चुनौति बनेको जानकार बताउँछन् । कारोवार दैनिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्