झापा । झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् ।
पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल्टी ग्रुपले यो चियाबगानको व्यवस्थापन जिम्मा भारतीय कम्पनीलाई दिएको छ । सो कम्पनीका व्यवस्थापक सुमेन्दु मुखर्जी पैसा ल्याउँछु भनेर १० दिनअघि भारत गए पनि फर्किएका छैनन् । ०१८ सालमा पूर्वराजपरिवारले स्थापना गरेको चियाबगान पञ्चायतमा ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको थियो । पञ्चायतको समाप्तिसँगै ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’को नाममा रहेको छ । ३ सय १६ जना मजदुर कार्यरत बगानले उनीहरूलाई दुई महिनाको करिब ५० लाख रुपैयाँ तिर्न बाँकी छ । बगानमा मजदुरले दैनिक ३ सय ८५ रुपैयाँ पाउँदै आएका छन् ।
बगानले मजदुरको ज्याला मात्रै नदिएको होइन, दमक नगरपालिकामा ५ करोड ३० लाखबराबर सम्पत्तिकर पनि तिर्न बाँकी छ । बगानले आर्थिक वर्ष ०६२/६३ देखि एकीकृत सम्पत्तिकर नबुझाएको नगरपालिकाले जनाएको छ । बगानले दुई महिनासम्म ज्याला नदिँदा घरमा खाने अन्नसमेत सकिएको मजदुर तारामणि टोप्पोले बताइन् । ‘अब त के खाने, के लगाउने भन्ने अवस्थामा पुगिसक्यौँ । हाम्रो रोजगारी पनि यही बगानमा मात्रै हो,’ उनले भनिन्, ‘अन्न किन्न पैसा पनि छैन । हाम्रो पीडा कसले बुझ्ने ?’