कृष्ण तिवारी
रौतहट, माघ २५ गते । तराईमा दुलदुल घोडा नाच लोप हुने अवस्थामा पुगेको छ । काठले बनाएको घोडालाई रङ्गीचङ्गी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भनिन्छ । तराईका भाँट समुदायले नाच्ने यो नाच पहिले पेशागत रुपमा रहे पनि अचेल लोप हुने अवस्थामा पुगेको हो । नाचेर माग्ने भएकाले यो पेशा लोप हुन लागेको भारत बिहार घोडासहनको फिरोज भाँटले जानकारी दिनुभयो ।
पुस्तौंदेखिको यो नाचमा छोराहरु विभिन्न काममा लागेकाले यो पेशा लोप हुने अवस्थामा रहेको भाँटले दुखेसो पोख्नुभयो । घरघरमा पुगेर नाच देखाएर माग्ने भएकाले यो नाचलाई आफ्ना सन्ततिहरुले छोड्न लागेकाले उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
एक दिनमा आफूले ३०÷३५ किलो चामल नाच देखाएर संकलन हुरेको उहाँले स्मरण गर्नुभयो । अन्य समयमा अरु काम गरे पनि मंसिर, पुष, माघमा यो नाच देखाएर नै कमाउने गरेको उहाँले बताउनुभयो । तीनजनाको समूहमा रहेका भाँटहरुमा एकजना नाच्ने, एकजना मादल बजाउने र एकजनाले घर घरमा पुगेर माग्ने काम गरिन्छ ।
पहिले पहिले गाउँघरमा विभिन्न चुट्किला, गीत तथा उखान टुक्काहरु सुनाएर पैसा तथा चामल आर्जन गर्ने भाँट समुदायको मुख्य पेशा हो । आफ्नो पूर्खाहरुले गर्दै आएको पेशा लोप हुन लागेकोप्रति उहाँ चिन्तित हुनुहुन्छ ।
फुर्सदको समयमा घरमा बसेका किसानले आफ्नो स–साना बालबालिकालाई मनोरञ्जन तथा रमाउन कृत्रिम घोडामा राखेर रमाउने गर्छन् । बालबालिका पनि घोडामा बस्न पाएर रमाउने गर्छन् । कृत्रिम घोडामा बसेका उनीहरुलाई केही समय वास्तविक घोडामा नै बसेको भान हुन्छ । बालबालिकालाई खेलाउन तथा मनोरञ्जन गराउन मादलको सुरतालमा घोडा बनेका मानिसले गीत गाउँने तथा नाच देखाउने गर्छन् ।