पशुपतिमा साधुको शोभायात्रा आज

पशुपतिमा साधुको शोभायात्रा आज

सरोज आचार्य

काठमाडौँ, फागुन ६ गते । महाशिवरात्रि पर्व त्रिदिवसीय रूपमा मनाउने गरी पशुपति क्षेत्र विकास कोषले मङ्गलबार पर्व मनाउन आएका सबै साधुको उपस्थितिमा शोभायात्राको तयारी गरेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शोभायात्रामा सहभागी साधुको उपस्थितिअनुसार साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ ।

कालमोचनघाटका साधु अखाडा, बूढानीलकण्ठ साधु आश्रम, अन्नपूर्ण आश्रम, वेदविद्याश्रम, सोमसरला वेदविद्याश्रमलगायत सात्विक जीवन व्यतित गरेकालाई पनि शोभायात्रामा आमन्त्रण गरिएको छ । महाशिवरात्रि मनाउन कालमोचन घाटमा साधु आउने क्रम बढेको छ । साधुहरूको आगमन छिट्टै भएकाले कसरी भोजनको व्यवस्था गर्ने भन्नेमा चिन्ता पनि बढेको छ । महाशिवरात्रि यही फागुन ९ गते परेको छ ।
कालमोचनघाटका सन्न्यासी, वैरागी, उदासी र थापाथलीको नाथ अखडामा आएका साधुलाई के कसरी भोजन गराउने भन्ने अन्योल छ । उदासी अखडाका महन्थ पुष्पदास उदासी भन्नुहुन्छ, ‘‘नेपाल भ्रमण वर्ष’ परेकाले साधु यो पल्ट छिट्टै भित्रिए तर के खान दिने हो, टुङ्गो छैन ।’’
राज्यका तर्फबाट भने महाशिवरात्रिको एक दिन अघिदेखि मात्र साधुलाई भोजन व्यवस्था गर्ने प्रचलन छ । सन्न्यासी अखडाका महन्थ रमानन्द गिरी, नाथ अखडाका महन्थ नारायणनाथ योगी, वैरागी अखडाका रामशरण वैरागीले पनि साधुको आगमन भइसकेकाले समस्या आएको बताउनुभयो ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले हालै संस्थानको प्रशासकमा भूमि व्यवस्थापन तथा अभिलेख कार्यालयका महानिर्देशक दीपक काफ्लेको नियुक्ति भइसकेकाले विगतमा भएकै व्यवस्थाअनुसार महाशिवरात्रि पर्व मनाउने निर्णय भएको जानकारी दिनुभयो ।
संस्थानले ५० लाख रुपियाँको हाराहारीमा पर्व मनाउँदैछ भने साधुलाई त्रिदिवसीय रूपमा मालपुवा, खिचडी, दही, फलफूल तथा नगद दक्षिणासहित बिदाइ व्यवस्था गरेको छ । कालमोचन घाटका साधुसन्तले परम्पराअनुसार साधुको स्वागत तथा बिदाइ कालमोचन घाटबाटै गरिने प्रचलनलाई यथावत राख्न अनुरोध गरेका छन् ।
वि.सं १९०३ को कोतपर्वमा मारिएका भाइभारदार गाडिएको स्थानमा साधुको पाउ परोस् भनेर कालमोचनमा साधु आउने र बिदाइ गर्ने प्रचलन रहेको छ । ‘‘ऐतिहासिक यो खण्डित नहोस्,’’ महन्थ पुष्पदासको भनाइ छ । कहिले पशुपति, कहिले कालमोचनबाट बिदाइभन्दा साधुलाई हैरानी भएको महन्थ पुष्पदास बताउनुहुन्छ ।

कालमोचनस्थित सावित्री माताले घाटमा पिउने पानीको प्रवन्ध होस् भन्नुभयो । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि क्षेत्रमा साजसज्जा गरिरहेको छ । पशुपतिमा आएका साधुलाई यहीँ स्वागत तथा बिदाइ गर्ने व्यवस्था गरिएको छ ।
पशुपति गुठी गोश्वारा कार्यालयका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार, पर्व अगावै आएका साधुलाई भागवतानन्द आश्रम, अन्नपूर्ण आश्रम र रणोद्दीपसिंहको नित्य श्राद्ध भान्सामा भोजन व्यवस्था गरिएको छ । गोश्वाराले साधुसन्तलाई कुनै असजिलो नहोस् भनेर साधु रहेका स्थानमा अनुगमन व्यवस्था पनि मिलाएको छ ।

रेग्मीका अनुसार धुनीका लागि ४५ हजार किलो दाउरा ल्याइएको छ । पशुपति र कालमोचन घाटमा साधुको आवागमन चहलपहल बढेपछि यहाँ साधुको क्रियाकलाप अवलोकन गर्न रमितेको भीडभाड हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले यो क्षेत्रमा पर्व अव(िधभर मासु र मदिरा बिक्री र सञ्चय गर्न निषेध गरेको सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्