सप्तकोशीमा सञ्चालित जेटबोट बन्द : जथाभावी चन्दा र कमिशन मागेपछि सेवा बन्द

सप्तकोशीमा सञ्चालित जेटबोट बन्द : जथाभावी चन्दा र कमिशन मागेपछि सेवा बन्द

भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् ।

स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीले गुनासो गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाका बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालनमा रहेको थियो ।

चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणले जलयातायातबाट सेवा लिँदै आएका थिए ।

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए ।

राईले भने, “जेटबोट सञ्चालन हुँदा हामीलाई निकै सहज थियो तर आपसी किचलोका कारण सेवा बन्द हुँदा अहिले समस्या छ, सञ्चालनका लागि तत्काल पहल गर्न आवश्यक छ ।”

जेटबोट सञ्चालनमा आएपछि भोजपुरसँगै धनकुटाको सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी पुग्ने गरेका थिए ।

भोजपुर, खोटाङ धनकुटालगायतका जिल्लाबाट दैनिक सात सय बढीले जेटबोटमार्फत यात्रा गर्ने गरेको सञ्चालकले बताउँछन् । जेटबोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिस आवतजावत गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालीले सप्तकोशी नदीमा चार वटा जेटबोट सञ्चालन गर्दै आएका छन् ।

सप्तकोशी नदीमा सञ्चालित जलयातायात (जेटबोट) सेवा बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएको व्यवसायीको भनाइ छ

। सप्तकोशी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालन भइरहेको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्