विराटनगर तालिम केन्द्रमा कार्यरत भन्दै असईमा जागिर लगाइदिन्छु भन्ने नक्कली इन्सपेक्टर पक्राउ

विराटनगर तालिम केन्द्रमा कार्यरत भन्दै असईमा जागिर लगाइदिन्छु भन्ने नक्कली इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।

असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले पक्राउ परेका हुन् । कामको सिलसिलामा एक महिनाअघि भारतको सिलिगुडी जाँदा पीडित भनिएका दुई जनासँग वाग्लेको भेट भएको थियो । सो समय उनले आफू नेपाल प्रहरीको इन्सपेक्टर रहेको र हाल विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भन्दै परिचय पत्र देखाएका थिए । उनले डीआईजी साप आफ्नो ठूलो बुवा भएको बताउँदै प्रहरीमा जागिर खाने भए आफूलाई सम्पर्क गर्न आफर दिएका थिए ।

उनले सो बेला पीडित भनिएकाहरुको नम्बर लगेर केही दिनपछि असईको जागिर खुलेको भन्दै दुई जनालाई नै काँकरभिट्टा बोलाएका थिए । उनले दुवैलाई फारम भर्न लगाएर प्रक्रिया मिलाउन १–१ लाख रुपैयाँ माग गरेका थिए ।

जागिर पाउने आशामा पीडितमध्ये एक जनाले वाग्लेलाई ५० हजार र अर्काले एक लाख रुपैयाँ बुझाएका थिए । तर, त्यसपछि भने वाग्लेले फोन उठान र भेट्न छाडेका थिए ।

वाग्लेको व्यवहारमाथि शंका लागेर दुई काँकरभिट्टा ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । पछि वाग्ले फेरि पैसा चाहियो भन्दै सम्पर्कमा आएपछि प्रहरीले उनलाई मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बजारबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको प्रहरीको बर्दी लगाएको फोटोसहितको नक्कली परिचय पत्र पनि बरामद गरेको छ ।

उनीमाथि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ठगी र सरकारी कागज किर्ते शीर्षकमा मुद्दा दर्ता गरिएको र झापा जिल्ला अदालतको अनुमतिले थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्