होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा

होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा

कोकिला ढकाल

इलाम, फागुन ७ गते । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै पर्यटकीय स्थल अन्तुको होमस्टे व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय अन्तुमा बाहिरबाट आउने व्यक्तिले करोडौं खर्चेर रिर्सोट, सुविधा सम्पन्न होटल र कटेज निर्माण गरेर सञ्चालनमा ल्याएपछि होमस्टे व्यवसायलाई समस्या परेको हो ।

सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा करिब ६३ घरमा होमस्टे सञ्चालन गरिएको छ । सस्तो खाना र वास, पारिवारिक वातावरण स्थानीय उत्पादनको खानाको परिकार, कृषिले सुधारिएको जीवनशैली सँगको निकटताले पर्यटकका लागि प्रिय बनेको अन्तुमा सुविधा सम्पन्न रिर्सोट, होटल र कजेटहरुले होमस्टेको पहिचाननैै हराउने स्थितिमा पुगेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । दर्जन बढी कटेज छन्, होटल पनि धेरै बनिन थाले, उनीहरुले दिने सुविधा र होमस्टेले दिने सेवा सुविधा धेरै फरक छन्, आले भन्नुहुन्छ – होटलमा बस्न र पारिवारिक वातावरणमा बस्न पनि धेरै फरक हुन्छ ।

होमस्टेनै सञ्चालन गर्दै आउनु भएकी राधिका मगर पनि रातारात जस्तो होटलहरु बनिने गरेको बताउनु हुन्छ । आज बेलुका सुत्दा केही हुँदैन, विहान उठ्दा होटल ठडिएको हुन्छ, राधिकाले व्यङ्ग्य गर्दै भन्नुभयो– को कहाँबाट आएर व्यवसाय शुरु गर्छ पत्तो छैन, यसले होमस्टेलाई समस्या पारेको छ । दैनिक २० जना सम्म पाहुना राख्ने राधिकाले अचेल पर्यटक पनि सुविधा भोगी भएको बताउनुभयो ।

अर्का होमस्टे सञ्चालक एकराज घिमिरे पनि होमस्टेलाई पछिल्लो पटक निर्माण थालेका होटलहरुले सञ्चालनमा चुनौती थपेको बताउनु भयो । होटलमा भन्दा होमस्टेमा खाना तथा बासको दररेट न्युन छ, खानाको गुणस्तर राम्रो छ, घिमिरे भन्नुहुन्छ– तर न्युन दरमा खाना र बासको व्यवस्था गर्दा पनि पर्यटकले शहरबजारको जस्तो महंङ्गो होटल रुचाउने गरेका छन् । होमस्टेले एकै दरमा खाना खुवाउने र बास बसाउने व्यवस्था मिलाएका छन् । घिमिरेका अनुसार १७० रुपैयाँ प्रति छाक सादा खाना र चार जना सम्म बस्न सक्ने एटेज कोठालाई एक हजार तथा चार जना सम्म बस्ने ननएटेज कोठाका लागि सातसय रुपैयाँ दर राखिएको छ । होटलहरुमा दररेट छैन, पर्यटकबाट मनलाग्दी लिंदा हुन्छ, घिमिरेले भन्नुभयो– अन्तु क्षेत्रलाई होमस्टेकै रुपमा विकास गर्नुपर्छ भनेर हामीले स्थानीय सरकारलाई आग्रह गरिरहेका छौं ।

प्रदेश एक सरकारले गतवर्षदेखि पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाले पनि अन्तुलाई ‘होमस्टे हब’ कै रुपमा विकास गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख रणबहादुर राईले बताउनु भयो । अन्तुमा पछिल्लो समय खुलेका होटल, रिसोर्टले समस्या पारेको छ, राईले भन्नुभयो– नगरपालिकाले अब अन्तुमा कडाइ गर्दैछ, होमस्टेको कार्यविधि अनुसार नगरपालिकाबाट स्वीकृति लिएर मात्र सचालन गर्न दिने नीति लिएका छौं । नगरपालिकाले अब निर्माण हुने होटलहरुलाई विना स्वीकृत सञ्चालन गर्न नदिने नीति लिएको नगरप्रमुुख राई बताउनु हुन्छ । अहिले निर्माण भएर सञ्चालनमा आएका होटलहरुलाई पनि नगरपालिका सँग पुनः स्वीकृति लिन भनिएको राईले जानकारी दिनुभयो ।

सूर्योदयको दृश्यावलोकन र होमस्टेको बासले प्रसिद्ध अन्तुमा पर्यटकको चाप पनि उत्तिनै छ । दैनिक एक सय बढी पर्यटकहरु अन्तु डाँडामा पुगेर सूर्योदयको दृश्यावलोकन गर्ने गरेको टिकट काउन्टरका कर्मचारी बुद्धबीर तामाङले जानकारी दिनुभयो । यसरी आउने पर्यटकहरु बेलुका अन्तु पुगेर बास बस्ने गर्छन् र विहान सूर्योदयको दृश्यावलोकन गरेर फर्कने गरेका छन् । यसरी आउने पर्यटकले अन्तुमा प्रतिव्यक्ति सरदर पाँच सय रुपैयाँ खर्च गर्ने गरेको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ । फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारी साधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्