हरिप्रसाद कोइराला
पथरी शनिश्चरे(मोरङ), फागुन १० गते । उमेरले आठ दशक नाघे पनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै आफ्नो यात्रा तय गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा उहाँले पहिलो पटक साइकल कुदाउन सिक्नुभयो । त्यसयता उहाँले साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २० किलोमिटर साइकलबाट यात्रा तय गर्नुहुन्छ ।
साइकल कुदाउने मात्र होइन । घरका सबै काम उहाँ आफैं भ्याउनु हुन्छ । उहाँले गाई पालेर दूधको ब्यापार गर्न थालेको २२ वर्ष भयो । उहाँले भन्नुभयो–‘गाईलाई खोले, घाँस, कुडो, पानी आफैं गर्छु । आफै दुहुन्छु र आफैं ग्राहकका घर घरमा लगेर बिक्री गर्छु ।
ठूलो साइकलमा एउटा झोला । त्यो झोला भित्र आधा लिटर, एक लिटर र दुई लिटरका स–साना भाडामा दूध । अनि उहाँको दैनिकी सुरु हुन्छ । साइकलको घण्टी बजाउँदै ग्राहकका घर घरमा पुग्नु हुन्छ र दूध बेच्नु हुन्छ ।
त्यति मात्र होइन । खेतीपातीको काममा पनि उहाँको सक्रियता घटेको छैन । खन्ने आली लगाउने ,धान,मकै गोड्न पनि उहाँ आफै निस्किनु हुन्छ । उहाँको अर्को छुट्टै विशेषता छ । स्थानीयले उहाँलाई इङ्लिस वा भनेर चिन्ने गरेका छन् । केटाकेटीमा भूटान बस्दा कक्षा ८ सम्म पढ्नु भएका गौतम अझै पनि फररर अंङग्रेजी बोल्नु हुन्छ ।
बोर्डिङ पढ्ने बाल बालिका र किशोर किशोरीहरूसँग उहाँ अंग्रेजी मै सम्वाद गर्नुहुन्छ । मुखमा एउटै दाँत छैनन् । न टाउकोमा कालो कपाल । तर पनि उहाँमा २०÷२५ वर्षको टिठाको जस्तै जोश र जाँगर छ । उहाँ भन्नुहुन्छ–‘हामीले जस्तो ग्रामर मिलाएर अहिलेका विद्यार्थीले बोल्दैनन् ।
२०३५ सालमा शनिश्चरे आउनु भएका गौतमलाई स्थानीय सिंहवाहिनी माविले अङ्ग्रेजी पढाउन बोलाएको थियो । तर, उसबेलाको तलवले गौतमलाई स्कुल पढाउने भोक जगाउन सकेन । गौतमले आसाम रेजिमेन्टमा ७ वर्ष जागिर पनि खानुभयो । तर त्यहाँ पनि उहाँ टिक्नु भएन ।उहाँले भन्नुभयो –‘तलव नै थोरै थियो ,त्यसैले छुट्टीमा घर आएको बेला जागीरमा गइन । ८१ वर्ष पुग्नै लाग्दा पनि उहाँलाई कुनै रोगले भेटेको छैन । गौतमले साइकल कुदाएकै कारण रोग नलागेको सङ्केत गर्नुभयो ।
अंग्रेजीमा अब्बल टङ्कनाथ अचेल बेद,रुद्री र दैनिक पूजा विधिका पुस्तक पढेर मन्दिरमा पूजारी काम गर्नुहुन्छ । बिहानै सबेरै उठेर उहाँ गाई दुहुनु हुन्छ । दूध ग्राहकको दिइ सकेपछि उहाँ राधाकृष्ण मन्दिर र विन्ध्यवासिनी मन्दिरमा दैनिक पूजापाठ गर्नुहुन्छ । दुई वटा मन्दिरको पूजापाठ सकेर घर फर्किदा ९ बज्छ । उहाँले आफ्नो दैनिकी सुनाउनु भयो ।