सप्तरीको राजविराज कमजोर ट्राफिक व्यवस्थापनले कुरुप बन्दै

सप्तरीको राजविराज कमजोर ट्राफिक व्यवस्थापनले कुरुप बन्दै

धीरेन्द्रप्रसाद साह

राजविराज, फागुन १५ गते । सप्तरीको राजविराज नगरका मुख्य सडकहरुमा ट्राफिक संकेत राखिएको भएपनि नियम पालन भइरहेको पाइदैन ।

ट्राफिक नियमको पालन नहुँदा सवारी साधनहरु अव्यवस्थित पाकिङ्ग भइरहेको छ । नगरका मुख्य सडकमा ट्राफिक नियम पालना गराउन आधा दर्जन ट्राफिक प्रहरी खटिएको देखिन्छ । तर, उनीहरु मोटरसाइकलबाहेक ठूला सवारी साधनलाई तोकिएको स्थानमा पार्किङ्ग गराउन सकिएको देखिदैन । जथाभावी पार्किङ्ग गरेको भेटिन्छ ।

नगरमा मोटरसाइकलले ट्राफिक नियम उल्घंन गरेको पाइएमा तुरन्त कारबाही गरेर व्यवस्थित गरेको हुन्छ । सोही स्थानमा बस, ट्रक, म्याजिक, विंगर, माइक्रो बस, अटो, इ–रिक्सा लगायतका सवारीले ट्राफिक नियम पालना नगर्दा खटिएका ट्राफिक प्रहरीले वेवास्ता गर्ने गरेको स्थानीय रमानन्द साहले जानकारी दिनुभयो ।

नो पार्किङ्ग तोकिएकै स्थानमा भाडाका ती सवारी साधनहरुले यात्रु चढाउन, ओराल्ने गर्नुकोसाथै घण्टौसम्म रोकेर राखिने गरेको उहाँको कथन । नगरको मुटु मानिने गजेन्द्र चोक, जनआन्दोलन चोक, मुख्य सडकमा पार्किङ्ग र नो पार्किङ्ग संकेतका बोर्डहरु ठड्याएका छन । ती संकेतमा सवारी साधनको प्रकृति भने उल्लेख नगरिएकोले कुन सवारी साधनले पार्किङ्ग गर्न वा नगर्ने अन्योल पनि रहेको चालक बिरेन्द्र गिरीले बताउनुभयो ।

भाडामा चल्ने सावरी साधनमध्ये विगर, माइक्रो बस, अटो रिक्साले ब्लुबुकमा उल्लेख भएको भन्दा बढी सीट थपेर क्षमता भन्दा बढी यात्रु बोक्ने, चालक अनुमतिपत्र बिना सवारी कुदाउने, ब्लुबुक नविकरण नभएको अवस्थामा चल्ने सवारी साधन उपर ट्राफिक प्रहरीले बिना रोकटेक कुद्न दिएको स्थानीहरुको कथन छ । ती सवारी साधनधनीहरुले ट्राफिक प्रहरीलाई मासिक लेबी बुझाउने गरेको कारण उनीहरु उपर ट्राफिक कारबाही भइनरहेको स्थानीयको बुझाइ छ । ट्राफिक प्रहरीलाई मासिक नबुझाउने वा विशेष चेकजाँच बाहेकका बेला मात्र भाडाका सवारी उपर कारबाही हुने गरेको राजविराज नगरवासी रामप्रसाद चौधरीले बताउनुभयो ।

सो सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक उत्तम कार्कीले ट्राफिक संकेतमा भएको कमजोरीलाई आवश्यक सुधार गरिने जानकारी दिदै अव्यवस्थित पार्किङ्गलाई अबदेखि व्यवस्थिततर्फ विशेष ध्यान दिने बताउनुभयो । यता अव्यवस्थित भाडाका सवारी साधन पार्किङ्गले नगरलाई कुरुप बनाउँदै गएको छ भने पैदल यात्रुसहित अन्य सवारी साधनहरुलाई पनि आवतजावतमा सास्ती भोग्नु परेको छ । दुर्घटनाको जोखिम पनि उत्तिकै उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्