झापामा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभा हुने,ओली र प्रचण्ड आउने

झापामा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभा हुने,ओली र प्रचण्ड आउने

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औँ स्मृति तथा श्रद्धाञ्जलिसभाको आयोजना गरेको छ । भद्रपुरबाट कारागार सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जङ्गलमा विसं २०२९ साल फागुन २१ गते तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको हत्या गरिएको थियो ।

सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ । नेकपा झापाले आयोजना गरेको उक्त स्मृतिसभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

उनका अनुसार प्रम ओली, अध्यक्ष दाहाल, पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्मृति पार्क सालबारीमा शहीदको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, नेकपा १ नम्बर प्रदेश कमिटीको बैठक फागुन १९ गते बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम २० गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको नेकपा झापाका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख मणिकुमार साम्पाङले बताए ।

साम्पाङका अनुसार प्रदेश कमिटीको बैठकमा १ नम्बर प्रदेश अन्तर्गतका नेकपा केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहनेछ । यस्तै २० गतेको प्रशिक्षणमा १४ वटा जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका सचिवालय सदस्यहरु सहभागी हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्