धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २० गते । तराईतिर मैथिलीमा भनिन्छ, माघ गुजरे, आम मजरे अर्थात माघ सकेर फागुन लागेपछि आँपमा मुजुरा(मञ्जर) लाग्ने गरिन्छ । आँपमा मुजुरा लाग्न सुरु भएपछि व्यापारीहरुको बगैचा चहार्ने दैनिकी बनेको छ । सप्तरीका विभिन्न आँप बगैचामा मुजुरा किन्न व्यापारीहरु यसरी चाहार्ने गरेका छन । मञ्जरले भविष्यमा उत्पादन हुने आँपका अनुमानको भरमा मजुरा खरिदबिक्री भइरहेको छ ।
व्यापारीहरुले दुई÷चार वटा एकल आँपको मञ्जर भन्दा धेरै रुखहरु भएको बगैचामा मञ्जर किन्ने गरेको पाइन्छ । आँपको राजधानीको रुपमा परिचित सप्तरीमा बगैचामा भएको आँपको बोट र त्यसमा लागेको मञ्जरको भरमा भविष्यमा उत्पादन आँप फलको आधारमा मोलतोल गरेर मौखिक रुपमा मञ्जर खरिदबिक्री भइरहेको छ । सप्तरी सहित तराईका सिरहा, धनुषा, सुनसरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा मञ्जर खरिदबिक्री हुने गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष आँपमा अधिक मात्रामा मञ्जर लागेको छ । आँपमा लागेको मञ्जरको बोट ठूलो मात्रामा खरिद भइरहेको सप्तरीको रुपनी गाउँपालिका बस्ने व्यापारी आलमले जानकारी दिनुभयो । उहाँले गतवर्ष २५ वटा आँपको बोट भएको बगैचाको मञ्जर एक लाख रुपियाँमा खरिद गर्नु भएको थियो । यस वर्ष मञ्जर धेरै लागेकोले अलि सस्तोमा किन्ने गरेको उहाँले भन्नुभयो, अहिलेदेखि किटनासक बिषादी छरेर स्याहार गरेमा मात्र राम्रो फल दिन्छ । त्यसैले मैले अहिले नै मन्जर खरिद गरिरहेको छु ।
आँपमा टिकुला लागेपछि मञ्जरको भन्दा बढी मूल्य तिर्नु परेको हुँदा अहिले मञ्जर सस्तोमा किन्न पाइने गरेको बताउँदै व्यापारीहरुले भन्नुभयो–हामीहरुले मञ्जर किनिसकेपछि फल सपार्ने काम हाम्रो जिम्मेबारी हुन्छ, नत्र हामी घाटामा जान्छौ । कृषकले समयमा राम्ररी हेरचाह तथा स्याहार गर्न नसक्दा मञ्जरमा किरा लाग्ने, झर्ने गरेको कारण आँप न्यून मात्रामा फल्ने गर्दछ । सोचे अनुसारको आम्दानी नहुने हुँदा अरुलाई बेच्ने गरेको बताएको छ । मञ्जर खरिद गरिसकेपछि मञ्जर अनुसार आँप फल सप्रियो भने मनग्य आम्दानी हुने विश्वास रहेको बताउनुभयो ।
मञ्जर लागेको ठूल–ठूला बगैचाको रेखदेख हेरचाह आफैले गर्न नसकिने र मजदुर पनि नपाइने गरेकोले फल भगवान भरोसामा साप्रिने गरेको हुँदा मञ्जर नै बेच्ने गरेको कृषक भोलाइ चौधरीले बताउनुभयो । तराईका कृषकहरुलाई आँप सपार्न नसकिने यो साझा समस्या र अवस्था रहेको छ । आँप व्यापारीहरुले मञ्जर खरिद गरिसकेपछि दिनरात बगैचामा समय बिताएर फल कसरी सपार्ने र त्यसबाट अत्यधिक आम्दानी कसरी गर्ने भनेमा मस्तिष्कलाई कुदाइरहने गरिन्छ । आँप व्यापारीहरुले खरिद गरेको बगैचामा फूसको अस्थायी टहरा(झुप्रा) निर्माण गरेर त्यही खाना पकाउने, खाने र सुत्ने गरिन्छ । आँप नटिपुनजेल्ल सम्म उनीहरुको भोजन आवास बगैचामा नै हुन्छ ।
कृषि विज्ञान केन्द्र राजविराजको तथ्यांक अनुसार सप्तरीमा कूल आँप बोटको ६० प्रतिशत मालदह रहेको छ भने कलकतिया २० प्रतिशत, बम्बई १५ प्रतिशत र अन्य जातका पाँच प्रतिशत बोट रहेको छ । यस जिल्लाको प्रत्येक ग्रामीण वस्तिमा आँपको बोट अत्यधिक मात्रामा रहेपनि संख्यात्मक र गुणात्मक रुपले उत्तरी भाँवर क्षेत्रको भंगहा, धरमपुर, रुपनगर, घोघनपुर, जगतपुर, कंचनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना, कठौना आँप खेतीका लागि प्रख्यात छन् । ती स्थानहरुमा रहेको आँप बगैचाको मञ्जर समेत बिक्री भइसकेको छ । जिल्लामा कूल पाँच हजार ४५० हेक्टर जग्गामा करिब दश लाख आँपको बोट रहेको बताइएको छ । यीमध्ये ७५ प्रतिशत बोट पूर्व पश्चिम लोक राजमार्गको उत्तरी भेगमा रहेको छ । यहाँ उत्पादन भएको आँप कतार, मलेसियासहित विदेशका अन्य राजधानी सहर तथा स्वदेशका काठमाण्डौ, पोखरा, हेटौडा, लगायतको सहरमा बिक्री हुने गरेको व्यापारीहरुको कथन छ ।