कविराज घिमिरे
धनकुटा । अनुदानका लागि कृषि पेशा अँगाल्ने तर अनुदान पाएपछि भने यसबाट पलायन हुने प्रवृत्ति बढ्दै गएको छ ।
यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान रकम कटौती गरी उद्यमी किसानलाई सापटी दिने नियम लागू गरेको छ ।अनुदानले उत्पादन र आत्मनिर्भरता बढाउन नसकेको भन्दै धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान हटाएर बिनाधितो र बिना ब्याज सापटी रकम उपलब्ध गराउन सुरु गरेको छ ।
मिहिनेती कृषकहरुलाई गाउँपालिकाले कृषि व्यवसाय प्रवद्र्धन कोषमार्फत् मसला, फलफूल, पशुपालनका लागि निव्र्याजी र बिनाधितो ऋण उपलब्ध गराउनेछ ।जसमा लागतको ५० प्रतिशतसम्मको सापटी रकम उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको भनाइ छ ।
खाद्यान्न र तरकारीमा एक बर्ष तथा फलफुल, चिया, अलैंची र पशुपालनका लागि लिएको सापटी ऋण किसानले किस्ताबन्दीमा पाँचबर्षभित्र गाउँपालिकालाई फिर्ता गर्नुपर्ने प्रावधान छ ।प्राकृतिक प्रकोप र बजार अभावका कारण उत्पादनमा क्षति हुन पुगे किसानले शोध भर्नाबापत् लागत मूल्यको ३० प्रतिशत रकम पाउने पनि व्यवस्था गरिएको छ ।
क्षतिपुर्तिका लागि भने पशु र बाली बिमा अनिवार्य गराउनुपर्ने हुन्छ । गाँउपालिकाले चालेको यो कदमले वास्तविक कृषकलाई सहयोग पुर्याउने कृषि अभियन्ता जीवन राईको विश्वास छ ।
गाउँपालिकाले वास्तविक किसानलाई लक्षित गरेर ल्याएको नीतिप्रति गाउँपालिकावासी पनि उत्साहित भएका छन् ।
यसबाट पनि गाँउपालिकाले उपलब्ध गराएकोे ऋण दुरुपयोग हुन सक्ने भएकाले यसतर्फ पनि सचेत हुनुपर्ने सरोकारवालाको भनाइ छ ।
-इमेज खबर