हिउँदमा महिनैपिच्छे वर्षा , किसान बने हर्षित

हिउँदमा महिनैपिच्छे वर्षा , किसान बने हर्षित

महोत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो ।

यसपालि हिउँदका पुस, माघ र फागुनमा  पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । साथै उखु, फलफूल र तरकारी बाली हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको भनाइ छ ।

यसपालि पुस र माघमा परेको पानीले गहुँ बाली राम्रो फलेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँछन् । हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर (मञ्जरी, फूल) स्वस्थ्य राख्न, चिचिला राम्रो र भरिलो लाग्न मद्दत गर्ने किसानले बताएका छन् । समय÷समयमा भइरहेको वर्षाले आँपमा लागेको मधुवा नियन्त्रणमा पनि मद्दत गरेको गौशाला नगरपालिका–१ का श्याम शाशङ्कर बताउँछन् ।

शुक्रबारको वर्षाले फागुन मसान्तताका ह्वात्तै बढेको गर्मी घटाएको छ । यद्यपि सडक र ढलका काम राम्ररी नहुँदा जिल्लाका मुख्य सडकसँगै ग्रामीण सडक भने हिलाम्य भएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्