बिद्यार्थीलाइ मुक्का, लात्ती र पाइपले कुट्ने शिक्षक समातिए

बिद्यार्थीलाइ मुक्का, लात्ती र पाइपले कुट्ने शिक्षक समातिए

ललितपुर : ताल्छिखेलस्थित ब्लुबर्ड सेकेन्डरी स्कुलका शिक्षक दीपेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १० मा अध्ययनरत १५ वर्षीय सन्दीप पुनलाई मुक्का, लात्ती र पाइपले प्रहार गरेको आरोप उनीविरुद्ध लागेको छ । बालकले अपशब्द प्रयोग गरेका कारण आफूले पिटेको बयान शिक्षक थापाले प्रहरीमा दिएका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बालक पिट्ने शिक्षकलाई बिहीबार पक्राउ गरिएको बताए । बागलुङ घर भई महालक्ष्मीस्थान बस्दै आएका सन्दिपले यही फागुन २७ गते राति बुवा जंगबहादुर पुनलाई फोन गरेर छात्रावासमा डाँकेका थिए । उनले छात्रावासमा सुत्न एकदमै गाह्रो भएको गुनासो गरेका थिए । छोराको शरीरभरि नीलडाम देखेपछि जंगबहादुरले प्रहरीमा जाहेरी दिएका थिए ।

शिक्षकविरुद्ध अभद्र व्यवहार अभियोगमा अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । जंगबहादुरले पिटाइका कारण छोरा सुत्न नसकेको जाहेरीमा उल्लेख गरेका छन् । लात्ती, मुक्का र पाइपले हानेका कारण शरीरभरि नीलडाम बसेकाले शिक्षकलाई कारबाहीको माग गरिएको छ ।

‘कक्षा सञ्चालन नभएको समयमा बेन्चमा बसेर निदाउन लागेको थिएँ, त्यति नै बेला सर आएर मेरो टाउकामा हान्नुभयो’, सन्दीपले भने । साथी भन्ठानेर केही ‘अपशब्द’ बोलेको उनले स्वीकार गरे । शिक्षकले भने आफूलाई बेन्चमा टाउको घोप्टो बनाई लात्ती र मुक्का हानेको आरोप उनले लगाए । हरियो पाइपले जथाभावी पिटेको उनको भनाइ छ । आफूलाई अन्धाधुन्द पिट्दा कम्प्युटर शिक्षकले बेवास्ता गरेको उनले बताए ।

गोदावरी नगरपालिकास्थित गणेश माविमा गत कात्तिकमा १२ विद्यार्थीको जथाभावी कपाल मुण्डन गरिएको थियो । त्यसपछि मानसिक तनाव हुँदा विद्यार्थी विद्यालय जान मानेका थिएनन् । कपाल काटेर आउन अनुरोध गर्दा पनि बेवास्ता गरेकाले कारबाहीस्वरुप मुण्डन गरिदिएको विद्यालयले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्