झापाको गौरादहमा साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय

झापाको गौरादहमा साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय

दमक । महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न झापाको गौरादह नगरपालिकाकाले नगरभित्रका साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा उद्योग वाणिज्य सङ्घसहितको सर्वपक्षीय बैठकमा नगरभित्रका हाटबजारमा हुने भिडभाडले सङ्क्रमणको जोखिम निम्त्याउनसक्ने भएकाले त्यसबाट सावधानी अपनाउनका लागि स्थानीय हाटबजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार साहले बताए ।

गौरादह बजारमा बिहीबार र आइतबार गरी दुई सातामा दुई दिन हाट लाग्दै आएको छ भने नगरभित्रका ग्वाँलडुब्बा, स्कुलचौन, बैगुनधुरालगायतका स्थानमा साप्ताहिकरूपमा हाटबजार लाग्दैआएको छ ।

नगरभित्र रहेका हाटबजार बन्द गरिए पनि नियमितरूपमा सञ्चालन भइरहेको गुन्द्री बजारलाई भने यथावत सञ्चालन गर्ने निर्णय गरिएको छ । हाटबजार लाग्दा बढी भिडभाड र मानिसहरुको चहलपहल बढी हुने भएकाले केही समयका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख साहले बताए ।

यस्तै कोरोना भाइरसबाट सर्तकता अपनाउन नगर प्रमुख साहको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम तथा प्रतिकारात्मक तयारी समितिसमेत गठन गर्नुका साथै बजारमा हुने कालोबजारीलाई अनुगमन गरी नियन्त्रण गर्ने र नगरभित्रका सबै हाटबजार तथा नाकामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको छ ।

बैठकले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न रोकथाम तथा नियन्त्रणकारी निर्णयसमेत गरेको छ । दमक–९ स्थित हरि हिमा ढकाल स्मृति प्रतिष्ठानले बिरामीको आकस्मिक उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष टङ्क ढकालले कोरोना सङ्क्रमित बिरामीको उपचारमा सेवा पुर्‍याउन प्रदेश नं १ भरि निःशुल्कसेवा उपलब्ध गराउने बताए । प्रतिष्ठानले प्रदेश १ भरिका अस्पतालमा बिरामी लैजान प्रतिष्ठानको एम्बुलेन्स तैनाथ गरिने उनले जानकारी दिए । यसअघि उक्त प्रतिष्ठानले बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायतका सेवासमेत निःशुल्क उपलब्ध गराउँदैआएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्