झापामा पनि कोरोना भाइरसको संक्रमण बिरामी राख्न क्वारेन्टाइन तयार

झापामा पनि कोरोना भाइरसको संक्रमण बिरामी राख्न क्वारेन्टाइन तयार

विष्णुप्रसाद पोखरेल
दमक, चैत ८ गते । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमताको क्वारेन्टाइन तयार भएको हो ।

भद्रपुर नगरपालिका वडा नं. १० मा पर्ने कलवलगुढीमा झापामा पहिलो पटक बनेको क्वारेन्टाइनमा आवश्यक पूर्वधार तथा अत्यआवश्यकीय स्रोतसाधनको ब्यवस्थापन भद्रपुर नगरपालिकाले गरेको छ । पोर्तेलका अनुसार भारतसँग खुला सिमनाका कारण दैनिक आवतजावत धेरै हुने र अति जोखिम क्षेत्र भएकाले पूर्व तयारी स्वरुप क्वारेन्टाइन तत्काल बनाईएको हो ।
यसैगरी कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको घोषणा कार्यन्वयन र जिल्लामा आउन सक्ने समस्या लगायतको बिषयमा सर्वपक्षीय छलफल भएको छ । जिल्ला समन्वय समिति झापाले सर्वपक्षीय छलफल गरेको हो । छलफलले कम्तिमा पनि ५० लाख रुपियाँको आपतकालीन कोष निर्माण गर्ने निर्णय भएको छ । कोषमा स्थानीय तह, सामाजिक संससंस्था र दाताहरुले रकम जम्मा गर्नेछन् ।
उक्त कोषमा जिल्लाका नगरपालिकाहरूले तीन लाखका दरले र गाँउपालिकाहरुले दुई लाखको दरले रकम जम्मा गर्ने गरेको जनाईएको छ । आपतकालीन कोष सञ्चालन तथा जिल्लामा विपद आएको अवस्थामा त्यसको ब्यवस्थापनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा समिति पनि बनेको छ ।

यसमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख सहित मानवीय सेवामा क्रियाशील संघसंस्थाहरु सदस्य रहेकाछन्

हाटबजार बन्द
यसैबीच कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि झापाको गौरादह नगरपालिका र गौरीगन्ज गाँउपालिकाले साप्ताहिक र अर्ध साप्ताहिक रुपमा लाग्ने हाटबजारहरु रोक्ने निर्णय गरेकाछन् । हाटबजारमा आवतजावत बढि हुने भएकाले जोखिम बढि हुने भन्दै यस्तो निर्णय गरिएको बताईएको छ । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहका अनुसार नगरमा दूइदर्जनभन्दा बढि हाटबजार लाग्दै आएकाछन् ।

यसैगरी गौरीगन्ज गाँउपालिकाका गौरीगन्ज र खजुरगाछीको हाट पनि अनिश्चितकालका लागि बन्द हुने भएको छ । गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार जोखिम न्यूनिकरणका लागि यो निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्