खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द

खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द

केदार मगर(रासस)

खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिबीच छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए ।

“हलेसी मन्दिर भक्तजन तथा पर्यटकका लागि बन्द गरिए पनि बालपुजारीबाट साँझ–बिहान गरिने पूजाआजा नियमित हुन्छ”, उनले भने, “अन्य समय हलेसी मन्दिरको मुख्यद्वार तथा बसाहा गुफाको प्रवेशद्वार भने बन्द गरिएको छ ।”

त्रिधार्मिकस्थलको रुपमा विश्व प्रसिद्ध हलेसी अनिश्चितकालका लागि बन्द गरिएको यो नै पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् ।

नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन समितिको संयुक्त हस्ताक्षर रहेको सूचना शुक्रबार प्रकाशन गरेर हलेसी मन्दिर बन्द गरिएपछि दर्शनार्थी तथा पर्यटकको चहलपहलसमेत कम हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

हलेसीमा हुने सन्ध्याकालीन आरतिसमेत अनिश्चितकालका लागि बन्द गरिएको विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । कोरोनाको महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द भएको छ ।

हलेसी मन्दिर परिसरमा यसअघि बिक्री गरिँदै आइएको डोरामालासमेत बेच्नमा प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कोरोनाबाट जोगिन मन्दिर परिसरमा हिजो चैत ७ देखि हेल्थ डेस्क (स्वास्थ्य सहायताकक्ष) समेत राखिएको छ ।

हलेसी प्रवेश गर्ने प्रमुख नाका सो नगरपालिकाको वडा नं १ मा पर्ने बाहुनीडाँडाको जयरामघाट र वडा नं ११ राजापानीको रेग्मीटारमा समेत आजदेखि हेल्थ डेस्क राखिएको जनाइएको छ । प्रमुख नाकामा स्थापना गरिएको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा रहने नगरप्रमुख राईले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लामा हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्र प्रवेश गर्ने प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छ । जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालय तथा सङ्घसंस्थाले आफ्नो पूर्वनिर्धारित औपचारिक कार्यक्रमसमेत स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कोरोना फैलिन नदिनुका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड (छुट्टै उपचारकक्ष) समेत स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए

चाम्लिङका अनुसार कोरोनाका शङ्कास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्नका लागि अस्पतालको आफ्नै लगानीमा तीन श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।

जिल्लामा आइपर्ने सम्भावित खतरालाई लक्षित गरेर प्रदेश तथा सङ्घीय सरकारसमक्ष आवश्यक बजेटसमेत माग गरिएको जनाइएको छ । बजेट नआएसम्मका लागि कर्मचारीकै तलबबाट आवश्यक तयारी थालिएको जनाइएको छ ।

यसअघि जल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भइसकेको छ । अध्ययनको सिलसिलामा चीनमा बसेर फर्किएका उनी बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि गत बुधबार स्वास्थ्य परीक्षण गर्दा उनमा कुनै लक्षण नदेखिएको हो ।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन–१४ गते नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्