नेपालका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, पूर्वनिर्धारित कार्यक्रम स्थगित

नेपालका शीर्ष नेता ‘सेल्फ आइसोलेसन’मा, पूर्वनिर्धारित कार्यक्रम स्थगित

सुरेशकुमार यादव

काठमाडौँ, चैत ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण राजनीतिक दलले आ–आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थाल्नुभएको छ । पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्नुभएको छ भने कोरोनाबाट बच्ने उपाय अपनाउनुभएको छ । नेता घरमा बस्दा पनि मास्क लगाउनुका साथै स्यानिटाइजर तथा साबुन पानीले हात धुने कार्य गरिरहनुभएको छ ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गर्नुभएको छ । कोरोना भाइरससँग सम्बन्धित कुनै विषय भयो भने केही सम्बन्धित व्यक्तिसँग छलफल गर्नुहुन्छ नभए भेटघाट पूरै बन्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
सल्लाहकार थापाले पहिला जस्तो दौडधूप गर्नुहुन्न तर दैनिक आइपर्ने आवश्यक विषयमा छलफल गर्नुहुन्छ । उहाँ आफैँ स्वास्थ्य उपचारपछि आराममा हुनुहुन्छ । त्यसैले उहाँ स्वास्थ्यप्रति सचेत हुनु स्वाभाविक हो झन् कोरोनाको सङ्क्रमणका कारण सचेत रहने कुरा भई नै हाल्यो भन्नुभयो ।

प्रम ओली कोरोनाप्रति आफू सचेत हुनुहुन्छ र अरूलाई सचेत रहन सल्लाह दिनुहुन्छ । शनिबार उहाँले कोरोनाको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभएको थापाले जानकारी दिनुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किनुभएको छैन । उहाँ ‘सेल्फ क्वारेन्टाइन’मा हुनुहुन्छ । नेता तथा कार्यकर्तासँग कम भेटघाट गर्नुभएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गर्नुभएको छ । त्यस्तै कुनै जरुरी भेटघाट छन् भने मात्र भेटघाट गर्नुहुन्छ नत्र उहाँ आफैँ कोरोनाप्रति सचेत भएर बस्नुभएको छ । सल्लाहकार सापकोटाका अनुसार प्रचण्डले मास्क लगाउनुका साथै स्यानिटाइजर प्रयोग गर्नुहुन्छ । भेटघाट गर्न आउनेलाई पनि कोरोनाबाट सचेत र सजग रहन सल्लाह दिएर पठाउनुहुन्छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गर्नुभएको छ । तीन दिनदेखि उहाँ घरमै हुनुहुन्छ । कुनै जरुरी र आवश्यक भेटघाट छ भने मात्र भेट्नुहुन्छ नत्र भेटघाट बन्द नै गर्नुभएको छ । उहाँका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना भाइरसबाट बच्न उहाँ सचेत हुनुभएको छ ।

उहाँले आफ्ना कार्यकर्ता तथा नागरिकलाई पनि सजग र सचेत रहन सुझाव दिने गर्नुभएको स्वकीय सचिव देउवाले बताउनुभयो । कोरोनासँग एकजुट भएर लड्नुपर्ने सभापति देउवाको जोड रहेको उहाँले बताउनुभयो ।
सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनदेखि नेता तथा कार्यकतासँग भेटघाट गर्न छाड्नुभएको छ । तीन÷चार दिनदेखि घरबाट ननिस्कनुभएका नेता पौडेलले कोरोनाबाट बच्ने उपाय सचेत र सजग हुनु रहेको बताउनुभयो ।
जनता सचेत भए भने कोरोनालाई सजिलै जित्न सकिने उहाँले बताउनुभयो । उहाँले आफू कोरोना भाइरसको सङ्क्रमणप्रति पूरै सचेत र सजग रहेको र अरूलाई पनि सुझाव दिनेगरेको जानकारी दिनुभयो ।

हालै स्वास्थ्य उपचार गराएर घर फर्किनुभएका समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निकै सचेत हुनुहुन्छ । उहाँ स्यानिटाइजर गोजीमै बोकेर हिँड्नुहुन्छ ।
समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेका अनुसार अध्यक्ष भट्टराई अहिले पूर्ण स्वस्थ हुनुहुन्छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले राजनीतिक भेटघाटका लागि कसैलाई कुनै समय दिनुभएको छैन । उहाँले मैले आफ्ना सबै राजनीतिक कार्यक्रम तथा भेटघाट स्थगित गरेको छु, घरमै बसेको छु तर कोही मान्छे सोध्दै नसोधी सीधै घरमा आउँदा फर्काउन नसकेर भेट्ने गरेको छु त्यसबाहेक अरू केही गतिविधि गरेको छैन भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्