इनरुवाका मनकारी युवा : लकडाउनले समस्या परेका युवालाई निशुल्क तरकारी !

इनरुवाका मनकारी युवा : लकडाउनले समस्या परेका युवालाई निशुल्क तरकारी !

अमर काफ्ले,

इनरुवा, १४ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् ।

लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै पुगेर सित्तैमा तरकारी उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न मुलुक लकडाउनमा रहेका बेला इनरुवाका युवाहरुले घर घरमा सित्तैमा तरकारी पुर्याउने अभियान चलाएका हुन् ।

लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका परिवारलाई लक्षित गरी इनरुवाका दिपेश ढकाल, बिवष पण्डित र प्रमेश पौडेलले सित्तैमा तरकारी वितरण अभियान सञ्चालनमा ल्याएका हुन् ।

व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले उनीहरुले तरकारी घरमै पुर्याउन थालेका हुन् । अभियान सञ्चालनमा ल्याएका युवाहरुलाई जिल्ला प्रशासन कार्यालय र सुनसरी प्रहरीबाट समेत अनुमति प्रदान गरिएको छ ।

दिपेश ढकालका अनुसार प्रारम्भमा तीन जनाले रकम जम्मा गरी अभियान थालिएको हो । १८ गते सम्मलाई घर घरमा तरकारी पुर्याउने लक्षसाथ अभियानको सुरुवात गरिएको ढकालले बताउनुभयो ।

युवाहरुले किसानसँग उनीहरुको उत्पादन सुलभ दरमा खरिद गरी समस्यामा परेका परिवारको घर सम्म पुगेर वितरण गर्ने गर्दै आएका छन् ।गरीब,दुःखी,असहाय र अशक्त परिवारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अभियान आवश्यक्ताका आधारमा अघि बढाइने युवाहरुले बताएका छन् ।

लक्षित समुदायले मात्र नभएर समस्यामा परेका जो कोहीले समेत सित्तैमा तरकारीको सेवा पाउने विवश पण्डितले बताउनुभयो । तरकारीका पोको तयार पारी घर घरमा पुर्याई दिने गरेको पण्डितको भनाइ छ ।

लक्षित समुदायको बसोवास रहेको क्षेत्रमा आफैं पुगेर समेत सित्तैमा तरकारी उपलब्ध गराउँदै आएको सित्तैमा तरकारी अभियानमा जुटेका युवा प्रमेश पौडेलले बताउनुभयो ।

सित्तैमा तरकारी प्राप्त गर्न ९८०२७२१०२०, ९८४२१२३५७६ र ९८६२००१५८१ नम्बरमा नाम टिपाउनु पर्ने छ । सित्तैमा अभियान सञ्चालनमा ल्याएको युवाहरुले सक्षम व्यक्ति र परिवारकासाथै अत्यावश्यक बाहेकको अवस्थामा निःशुल्क सेवाको अपेक्षा नगर्न भनेका छन् ।

अभियान इनरुवा नगरपालिका भर उपलब्ध रहने बताइएको छ । युवाहरुले चालेको अभियान नगरमै उदाहरणीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्