१२ जेष्ठ २०७७, सोमबार

विश्वभर कोरोना भाइरसको महामारी : वातावरणमा कस्तो प्रभाव पर्ला ?

मार्था हेनरिक्स । बीबीसी

केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन ।

ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको छ ।

अधिकारीहरुले कडा लकडाउन गरेपछि चीनको उहानका सडक मरुभूमि बनेका छन् । इटलीमा दोस्रो विश्वयुद्धयताकै कडा भ्रमण प्रतिबन्ध लगाइएको छ । लन्डनमा पब्स, बार र सिनेमा घर बन्द छन्, मानिसलाई घरमै बस्न भनिएको छ ।

विश्वभर उडान स्थगित छन् । मानिसहरु घरभित्रै छन्, सामाजिक दूरी बढाउने र टाढैबाट काम गर्ने अभ्यास गरिरहेका छन् । कोभिड–१९ को फैलावट रोक्न र सम्भावित मृत्यु घटाउन यस्तो गरिएको हो । यी सबै परिवर्तनबाट नसोचेको परिस्थिति निर्माण भएको छ । उद्योग, यातायतका साधन र व्यापार बन्द भएसँगै कार्बन उत्सर्जनमा एक्कासि कमी आएको छ ।

गत वर्षको दाँजोमा अहिले न्युर्याेकमा प्रदूषणको स्तर झन्डै ५० प्रतिशतले कम छ । चीनमा यसै वर्षको सुरुवातमा कार्बन उत्सर्जन २५ प्रतिशतले कम थियो– मानिसहरुलाई घरमै बस्न भनियो, उद्योग बन्द भए । नतिजा, कोइलाको प्रयोग ४० प्रतिशतले घट्यो ।

पर्यावरण तथा वातावरण मन्त्रालयका अनुसार विगत वर्ष यही समयको दाँजोमा यस वर्ष चीनका ३ सय ३७ सहरमा औसत ११ दशमलव ४ प्रतिशतले हावाको गुणस्तर राम्रो छ । स्याटेलाइट तस्बिरले देखाएअनुसार युरोपमा उत्तरी इटलीमा नाइट्रोजन डाइअक्साइड (एनओ२) घट्दैछ । स्पेन र बेलायतमा पनि यस्तै अवस्था छ ।

तत्कालीन र विद्यमान कोभिड–१९ जस्तो खतराले मात्रै यस्तो तीव्र परिवर्तन यति छिट्टै गरायो । यो लेख लेख्दै गर्दा कोभिड–१९ ले विश्वभर २० हजारभन्दा धेरैको ज्यान लिइसकेको छ र ४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रारम्भिक अवस्थामा मृतकको सङ्ख्या बढेसँगै यस महामारीले धेरैको जागिर खोसेको छ र दशौं लाखको जीवन खतरामा छ, भाइरविरुद्ध लड्न गरिएको कडाइबाट उद्योगहरु थलिएका छन् ।

आर्थिक गतिविधि र स्टक मार्केट ओरालो लाग्दै छ । यही समय कार्बन उत्सर्जन पनि कम हुँदै छ ।

दशकौँदेखि वकालत भइरहेको ‘डिकार्बोनिस्ड’ र दीर्घकालीन अर्थतन्त्रभन्दा यो ठ्याक्कै विपरीत छ ।

एक्कासि मानिसको जीवन लिने विश्वव्यापी महामारीलाई वातावरणीय परिवर्तनको बाटोका रूपमा हेर्न पनि हुँदैन ।

तर यस्तो भयावह अवस्था बढ्दै जाँदा उत्सर्जन कम हुँदै जाने स्पष्ट छ । जब महामारी हट्नेछ, तब प्रदूषण र कार्बन उत्सर्जन फेरि आकाशै ढाक्नेगरी पुरानै अवस्थामा फर्कनेछ ? वा अहिले हामीले देखेको परिवर्तनको प्रभाव स्थिर रहनेछ ?

‘पहिलो कुरा त यो स्विकार्नुपर्छ कि फरक कारणले उत्सर्जनमा कमी आएको छ,’ स्विडेनको लुन्ड विश्वविद्यालयकी सस्टेनेबिलिटी साइन्स अनुसन्धानकर्ता किम्बर्ली निकोलास भन्छन्, ‘उदाहरणका लागि यातायतलाई लिनुस्, यसले विश्वव्यापी कार्बन उत्सर्जनको २३ प्रतिशत ओगट्छ । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न देशमा अनावश्यक भ्रमण नगर्नेलगायत उपाय अलम्बन गर्दा छोटो समयका लागि उत्सर्जन कम भएको छ ।’

यातायतको माध्यमबाट हुने उत्सर्जनका प्रमुख कारक हुन्, मोटरगाडी र उड्डयन ।

यातायतमार्फत हुने हरितगृह ग्यास उत्सर्जनमा मोटरगाडीको ७२ प्रतिशत र उड्डयनको ११ प्रतिशत हिस्सा हुने गरेको छ ।

हामीलाई थाहा छ महामारीका समय भ्रमण कटौती हुँदा यस्तो उत्सर्जन कम भएको छ । तर जब फेरि यी नियमहरु हट्नेछ, तब के हुन्छ ?

‘महामारीले मानिसहरु घुम्न ननिस्कनुको अर्थ यो समय स्वतः उत्सर्जन कम भएको छ र वातावरणमा यसले अर्थ राख्छ । जस्तो, अहिले घुम्न पाइएन वा घरमै बस्नुप¥यो भनेर भोलि हिसाब चुकाउन तपाईं दुई पटक अफिस जानुहुन्न,’ निकोलास भन्छन् । तर विशेषगरी सेल्फ–आइसोलेसनमा बस्दाको पीडा कम गर्न विकल्प मिलेका दिन मानिसहरु फेरि घुम्न निस्किए भने के गर्ने ?

‘यसबारे पक्ष–विपक्ष दुवैतर्फबाट तर्क हुनसक्ने देख्छु,’ निकोलास भन्छन्, ‘जो व्यक्ति अहिले भ्रमणमा छैनन्, उनीहरु साँच्चै परिवारसँग समय बिताउन पाउँदा खुसी हुनेछन् र अब आफ्ना वास्तविक प्राथमिकतामा ध्यान दिन्छन् । यस्तो सङ्कटको घडीले आफ्ना प्राथमिकता, परिवार, साथीभाइ तथा समुदायको स्वास्थ र खुसीमा केन्द्रित हुन पनि सिकाउँछ । यदि महामारीको आगोले मानिसलाई यसरी सोच्न सिकायो भने उत्सर्जन कम हुन सहयोग पुग्छ ।’

तर अर्को अवस्था पनि निम्तन सक्छ । ‘अहिले लामो दूरीको यात्रा थाँती राखेका मानिसले पछि मौका मिल्दा घुम्ने योजना बनाएका हुन सक्छन्,’ निकोलास भन्छन् । मानिस आफ्नो पुरानै व्यवहारमा फर्किए उत्सर्जन उही परिमाणमा पनि फर्कनेछ ।

इतिहासका महामारी

हावामा कार्बन डाइअक्साइडको मात्रामा महामारीले अर्थ राखेको यो पहिलो अवसर होइन । इतिहासदेखि नै रोगको फैलावट र उत्सर्जनको कमीबीच सम्बन्ध रहिआएको छ– औद्योगिक युगभन्दा पहिलेदेखि नै । जर्मनीको म्युनिख विश्वविद्यालयस्थित जियोग्राफी विभागअन्तर्गत फिजिकल जियोग्राफी एन्ड ल्यान्ड युज सिस्टमकी प्रोफेसर जुलिया पोङग्राट्चका अनुसार १४औँ शताब्दीमा युरोपमा देखिएको ‘ब्ल्याक डेथ’ र १६औँ शताब्दीमा स्पेनिसहरु दक्षिण अमेरिका गएपछि उनीहरुसँगै फैलिएको ‘स्मलपोक्स’ दुवैका कारण हावामा कार्बन डाइअक्साइडको मात्रा हल्का कम भएको थियो । यो परिवर्तन रोगबाट निम्तिएको उच्च मृत्युदर र जातीय नरसंहारबाट अमेरिका हत्याउँदाको परिणाम थियो । अनुसन्धानले देखाएअनुसार मृत्युको अर्थ यसअघि खेती गरिएका धेरै जमिन बाँझै रहन पुग्यो, जसकारण वन्युजन्तु बढे, कार्बन घट्यो ।

आजको महामारीको प्रभावस्वरूप पहिलेजस्तै ठूलो सङ्ख्यामा मृत्यु निम्तिने प्रक्षेपण गरिएको छैन र यसको प्रभावस्वरूप जमिनको प्रयोगमा व्यापक परिवर्तन आउने पनि देखिँदैन ।

यसको वातावरणीय प्रभाव पछिल्ला विश्व–घटना जस्तै, २००८ र ०९ को आर्थिक मन्दीसँग मिल्दोजुल्दो छ । ‘त्यतिबेला एक वर्षका लागि विश्वव्यापी रूपमा कार्बन उत्सर्जन ठूलो परिमाणमा घटेको थियो,’ पोङग्राट्च भन्छिन् । त्यतिबेला उत्सर्जन कम हुनुको कारण घट्दो औद्योगिक गतिविधि थियो । उद्योगले यातायतकै स्तरमा कार्बन उत्सर्जनमा योगदान गरिरहेको हुन्छ ।

विश्वको कुल एन्थ्रोपोलोजिक उत्सर्जनमध्ये औद्योगिक प्रक्रिया, उत्पादन र निर्माणबाट १८ दशमलव ४ प्रतिशत उत्सर्जन हुन्छ । २००८–०९ मा आर्थिक मन्दीका कारण उत्सर्जन समग्रमा अघिल्लो वर्षको तुलनामा १ दशमलव ३ प्रतिशतले कम भएको थियो । तर २०१० मा अर्थतन्त्र मजबुत भएसँगै यो फेरि बढ्यो ।

‘कोरोना भाइरसले पनि यस्तै गर्नसक्ने सङ्केत देखिएका छन्,’ पोङग्राट्च भन्छिन्, ‘उदाहरणका लागि अहिले इन्धनका उत्पादन, स्टिल र अन्य धातुको माग घटेको छ । तर यसको ठूलो भण्डार छ, त्यसैले उत्पादन फेरि बढ्नसक्छ ।’

यस्तो उत्सर्जन फेरि पुरानै अवस्थामा फर्कन्छ वा फर्कंदैन भन्ने कुरा महामारी कति लामो समयसम्म चल्छ भन्नेमा पनि निर्भर हुन्छ । ‘अहिल्यै अनुमान लगाउन गाह्रो छ,’ पोङग्राट्च भन्छिन्, ‘तर यो लामो समयसम्म चल्दा धेरै अर्थपूर्ण प्रभाव पर्नसक्छ । वर्षको अन्त्यसम्मै महामारी चल्यो भने कम आयका कारण उपभोक्ताको माग पनि कम हुनसक्छ । उत्पादन र इन्धनका प्रयोग चाँडै रिभकर नहुन सक्छ । जबकि उत्पादनको क्षमता भने उस्तै रहिरहनेछ ।’

भाइरसका कारण उत्पादन वृद्धि अपेक्षाभन्दा आधामा झरे पनि ओईसीडीको प्रक्षेपणअनुसार विश्वव्यापी अर्थतन्त्र २०२० मा अझै बढ्नेछ । ओस्लोस्थित अन्तर्राष्ट्रिय मौसम तथा वातावरण अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता ग्लेन पिटर्सका अनुसार अर्थतन्त्र उक्सिएको अवस्थामा पनि समग्रमा २०२० मा ० दशमलव ३ प्रतिशतले कार्बन उत्सर्जन कम हुने छ । उद्योगलाई फेरि उकास्ने क्रममा सफा ऊर्जालगायत क्षेत्रमा ध्यान दिनसके पुरानै अवस्था फर्कने सम्भावना कम हुनेछ ।

व्यवहारमा परिवर्तन

वातावरणमा कोरोनाले दीर्घकालीन रूपमा अप्रत्यक्ष असर पार्न पनि सक्छ । एउटा असर, मानिसको मस्तिष्कमा वातावरण सङ्कट बारेको सचेतना घट्नु पनि हुनसक्छ किनकी अब तत्काल जीवन जोगाउने विषय प्राथमिकतामा पर्नेछ ।

अर्को वातावरणबारे बहस चलाउन अब थप कठिन हुनेछ किनकि सामूहिक कार्यक्रमहरु स्थगित छन् । ग्रेटाथनवर्गले शारीरिक प्रदर्शनको साटो डिजिटल अभियानमा ध्यान केन्द्रित गर्नुपर्ने जनाएको छ । यस वर्षको सबैभन्दा ठूलो जलवायु कार्यक्रम सीओपी २६ आगामी नोभेम्बरमा हुने तय छ र यहाँ विश्वका ३० हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।

यस सम्मेलनका आयोजकले स्कटल्यान्डको ग्लासगोमा कार्यक्रम आयोजना गर्नका लागि तयारी गरिरहेको सीओपी २६ को प्रवक्ताले बताएका छन्, संयुक्त राष्ट्रसङ्घ र चिलीस्थित सीओपीका वर्तमान अध्यक्षलगायत अन्य साझेदारसँग यस विषयमा कुराकानी भइरहेको छ ।

विश्वभरका मानिसको व्यवहारमा आउने परिवर्तनले वातावरणसम्बन्धी मुद्दालाई अहिलेको कोरोना भाइरस महामारीभन्दा पनि फैलाउनसक्छ । ‘सामाजिक विज्ञानको अनुसन्धानबाट हामीले बुझेअनुसार परिवर्तनको समयमै मानिस सम्बन्धित मुद्दामा संलग्न भयो भने त्यो प्रभावकारी हुन्छ,’ निकोलास भन्छन् ।

स्विजरल्यान्डस्थित ज्युरिच विश्वविद्यालयमा कोरिन्न मोसरले गरेको २०१८ को अध्ययनले देखाएको तथ्य यस्तो छ– यदि कोही मानिसलाई ड्राइभ गर्न दिइन्न र त्यसको सट्टा इ–बाइक पहुँच दिइन्छ भने उनीहरुले आफ्नो कार फिर्ता पाउँदा पनि पहिलेभन्दा कम चलाउँछन् ।

२००१ मा जापानको केयोटो विश्वविद्यालयमा सातोसी फुजीले गरेको अनुसन्धानअनुसार यदि मोटर वे बन्द गरेर ड्राइभरहरुलाई सार्वजनिक सवारी चढ्न बाध्य गराइन्छ भने रोड फेरि खुलेको अवस्थामा पनि पहिले कार चलाउनेमध्ये कतिले सार्वजनिक यातायत नै रोज्छन् ।

त्यसैले परिवर्तनको अवधिले अभ्यस्त भइसकेका पुराना बानी हटाउन सक्छ । कोरोनाभाइरसको महामारीमा मानिसहरुमा कम भ्रमण गर्ने बानी विकास भइसकेको छ र संयोगवस वातावरणका लागि यो सुखद् छ । सायद, हामीले सङ्कट सामना गरेकाले खाना खेर नफाल्ने बानी पनि बस्छ ।

सामुदायिक कदम

धेरै समुदायले स्वास्थ्य सङ्कटबाट आफूलाई सुरक्षा गर्न ठूलो कदम उठाएका छन्, यस्तो तीव्र गतिको प्रतिक्रियाले जलवायु परिवर्तनबारे पनि तीव्र कदम चाल्न सकिने थोरै आशा देखाएको छ । ‘यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखाएको छ कि हामीलाई कुनै कदम चाल्न आवश्यक प¥यो भने हामी मिलेर चाल्नसक्छौँ,’ न्युजिल्यान्डको न्यु साउथ वेल्स विश्वविद्यालयस्थित जलवायु परिवर्तन अनुसन्धान केन्द्रकी एसोसियट प्रोफेसर डोन्ना ग्रिनले भनेकी छन्, ‘त्यसो भए हामी जलवायु परिवर्तनमा किन यस्ता कदम सार्न सक्दैनौँ । शब्दले होइन, व्यवहारले ।’

निकोलासको बुझाइमा सामुदायिक कदमले अहिल्यै नभएर दीर्घकालका लागि आशा सिर्जना गरेको छ । पोङग्राट्चको बुझाइमा ‘सेल्फ आइसोलेसन’ को समय मानिसले आफ्नो दैनिक प्रयोग कम गर्दै भण्डारण ज्यादा गर्ने अवसर हो ।

कसैले पनि यस्तो बाटोबाट कार्बन उत्सर्जन कम होस् भन्ने चिताएका थिएनन् । कोभिड–१९ ले विश्वभर धेरैको ज्यान लिएको छ । बेरोजगारी र मानसिक समस्या बढाएको छ । तर एकअर्कालाई हेरेर समुदायले आफ्नो कदम चाल्नसक्छन् भन्ने पनि देखाएको छ । जलवायु परिवर्तनसँग जुध्न मानव समुदायका लागि यो पाठ निकै महत्त्वपूर्ण हुनेछ ।

(भावानुवाद– अन्वेषण अधिकारी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-24

Country Confirmed Death
Nepal6033
India1385364024
China840954638
Malaysia7245115
Qatar4371423
Australia7114102
US164324697720
Saudi Arabia72560390