पाँचथरमा विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु

पाँचथरमा विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु

रवीन्द्र काफ्ले

फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए ।

सङ्कलित विवरणका आधारमा हिजोबाट क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवं कोभिड–१९ जोखिम न्यूनीकरण एवं समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहहरुले शुक्रबारसम्ममा १२९ व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिबारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप व्यक्तिको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले बताउनुभयो ।

शनिबार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै हिलिहाङमा सात, कुम्मायकमा तीन, मिक्लाजुङमा एक र फिदिम नगरपालिकामा चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो ।

फिदिमले बनायो द्रूतकार्य टोली

फिदिम नगरपालिकाकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रूतकार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य एकाइका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने बिरामीलाई सचेत गराउने, उपचार, उद्धार एवं उपल्ला निकायमा सिफारिश गर्नेछ । नगरपालिकाभित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समितिसमेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न फिदिम नगरपालिकाले शनिबारबाट विलिपिङ पाउडर छर्किन शुरु गरेको छ । यहाँका अस्पताल, क्वारेन्टाइन निर्माण भएका स्थल, भीडभाड हुने तथा फोहर जम्मा हुने क्षेत्रमा उक्त पाउडर छर्किन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्