निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
त्यसको व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए । त्यसैगरी सहरी रहेका असङ्गठित श्रमिकले भुक्तानी गर्नुपर्नेमध्ये एक महिनाको घरभाडा सम्बन्धित घर धनीलाई मिनाहा गर्न अनुरोध सरकारले गरेको छ । यसमा घरबहाल कर नलाग्ने निर्णय सरकारले गरेको छ ।
सरकारले रोगको उपचारका लागि प्रयोग हुने औषधी, सेनिटाइजर, स्वास्थ्य उपकरण, पञ्जा, पर्सनल प्रोटेक्सन ईक्युपमेन्ट (पिपिई)को आपूर्ति र अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ ।
सरकारले सङ्क्रमणको सम्भावना भएका व्यक्तिका लागि सञ्चालन हुने सामूहिक क्वारेन्टाइन सञ्चालन र क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्च स्थानीय तह र सङ्घीय सरकारले बेहोर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बैंक तथा धितोपत्रसम्बन्धी निर्णय
सरकारले वित्तीय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ ।
पुनःकर्जा कोषलाई तत्काल रु ६० अर्ब बनाएर उक्त रकम कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाका कोरोना प्रभावित ऋणीले यही चैत मसान्तसम्ममा बुझाउनुपर्ने साँवा र ब्याज आगामी असार मसान्तसम्म समय कायम गर्ने निर्णय भएको छ ।