के हो कोरोना भाइरस ? नेपालमा कसरी नियन्त्रण गर्न सकिन्छ ?

के हो कोरोना भाइरस ? नेपालमा कसरी नियन्त्रण गर्न सकिन्छ ?

–नारायण पौडेल

चीनको हुवेई प्रदेशको बुहान शहरमा गत डिसेम्वरमा पहिलोपटक देखिएको अदृश्य रहस्यमयी कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको छ भने संक्रमणको कारण ३० हजार भन्दा बढी मानिसहरुको मृत्यु हुनाको साथै करिब ७ लाख व्यक्तिहरु संक्रमित भईसकेका छन् । जुन भाइरसको संक्रमण वर्तमानमा विश्वव्यापी त्रास, महामारी र चिन्ताको विषय बनेको छ । कोरोना भाइरसको प्रकोपले चीनपछि अमेरिका, इटाली, स्पेन लगायतका देशहरुमा महामारी बढाएको छ । यो भाइरसको उदय भएको चीनमा चिनियाँ सरकारले आफ्नो देशका करिब ५ करोड मिलियन मानिसलाई यो संक्रमणबाट बचाउन सेल्फ क्वारेन्टाइन, आइसोलेसन, लकडाउन (सरकारी तालाबन्दी) सहित सम्पूर्ण शहरहरुमा सार्वजनिक तथा लामो दूरीका यातायात बन्द गर्ने, बजार, व्यापार, स्कुल, रेष्टुरेन्ट आदि बन्द गर्ने, पशुपंक्षी तथा वन्यजन्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने लगायतका कार्यहरु गरेपछि अहिले कोरोना भाइरस नियन्त्रणमा आएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का अनुसार यस भाइरसका प्रारम्भिक लक्षणहरुमा ज्वरो, सुख्खा तथा कफ युक्त खोकी, मांसपेसी दुख्ने, शरीर थकित हुने, असामान्य टाउको दुख्ने, खोकी सँगै रगत देखिने, कहिलेकाँही झाडापखाला लाग्ने, निमोनिया हुने, मृगौलाले काम गर्न छाड्ने लगायतका अवस्थाहरु देखिने गर्दछन् । हुनत यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन । तथापी विश्वभरका स्वास्थ्य अधिकारी र तिनका साझेदारहरु कोरोना भाइरसको स्रोत पहिचान गर्न दिनरात खटिरहेको भएपनि यसको मूल स्रोत पहिचान हुन अझै सकिरहेको छैन । यद्यपी वैज्ञानिकहरुले कोरोना भाइरसको सम्भावित कारण बुहानको समुद्री खाना तथा पशु बजारमा चमेरा, कोब्रा सर्प जस्ता वन्यजन्तुको उपभोग हुन सक्ने आँकलन गरेका छन् ।

कोरोना भाइरस भाइरसहरुको ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा संक्रमण गराउँछ । यो कोरोना भाइरस प्रत्यक्ष र अप्रत्यक्ष दुवैखालको हुने भएकाले यसले चुम्बन गर्दा आउने र्‍यालबाट आफ्नो नजिकको साथी वा परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण गराउँछ भने संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा, संक्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा अप्रत्यक्ष रुपमा यो भाइरस सर्ने गर्दछ ।

त्यसैले यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने क्रममा मानवसम्म आईपुगेको हो । तर वैज्ञानिकहरुले अझैपनि यो रहस्यमय भाइरसको संक्रमण कसरी र कति चाँडो फैलिन्छ भन्ने कुरा यकिनका साथ पुष्टि गर्न नसकेपनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् । साथै जोखिम प्रभावित क्षेत्रमा यात्रा गरिरहेका व्यक्ति, संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहने व्यक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी यस भाइरसको उच्च जोखिममा हुन्छन् भने दमरोगी, मधुमेह, मुटु रोग, एचआईभी, क्यान्सरजस्ता दीर्घरोग भएका र रोग प्रतिरक्षात्मक प्रणाली कमजोर भएका बालबच्चा तथा वृद्धहरु पनि बढी जोखिममा पर्ने गरेको विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ । तर यो रोग लाग्दैमा बिरामीको मृत्यु भने हुँदैन ।

अहिलेसम्म कोरोना भाइरसको कुनै खोप तथा औषधी पत्ता लागिसकेको छैन र कुनैपनि एन्टिभाइरल औषधी कोरोना भाइरस विरुद्ध प्रभावकारी सावित भएको पनि छैन । त्यसैले यसको कुनै उपचार छैन, तर यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार भने गर्न सकिन्छ । यो भाइरसबाट बच्नका लागि पटकपटक साबुन पानीले हात धुने, साबुन र पानी उपलब्ध नभए अल्कोहलयुक्त सेनिटाईजर प्रयोग गर्ने, सर्जिकल मास्कको प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा नाकमुख टिस्यु पेपर वा सफा कपडाले छोप्ने, जथाभावी छोएका हातले शरीरका अन्य अंगहरुमा नछुने, रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने, आफू बिरामी भएको बेला घरमा बस्ने, जंगली तथा घरेलु पशुपन्छीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाने, बिरामी मानिसको सम्पर्कबाट टाढै बस्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, सागसब्जी, फलफूल, गेडागुडी बढीमात्रामा खाने, भिडभाड हुने स्थानहरु जस्तै अस्पताल, सिनेमा घर, सार्वजनिक ठाउँ, सार्वजनिक यातायात, सपिङ मल, हाटबजार, सभा, सम्मेलन, भोज आदिमा नजाने वा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने, भाइरसको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनेजस्ता कार्यहरु गर्नु जरुरी छ । यो श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक, र्‍याल वा सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

कुनै व्यक्ति कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना भएको छ भने शरीरमा ब्याक्टेरियाको संक्रमण पनि हुन सक्ने भएकाले बिरामीलाई चिकित्सकले एन्टिबायोटिक दिएका हुनसक्छन् । तर एन्टिबायोटिकमा ब्याक्टेरिया विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । जुन कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रयोग गरिएको पनि होईन । त्यस्तै यो भाइरसको जाँचमा प्रयोग गरिने थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरो आए वा नआएका थाहा पाउन मात्र मद्दत गर्दछ । कोरोना भाइरसको संक्रमण देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भईसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन ।

कोरोना भाइरस गर्मी, जाडो, आद्र वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेकाले गर्मीको शुरुवात सँगै यसको प्रकोप कम हुँदै जान्छ भन्ने भ्रममा रहनुहुँदैन । साथै विभिन्न सामाजिक सञ्जालहरुमा रक्सी सेवन गर्ने, धुम्रपान गर्ने, माछामासु सेवन गर्ने, अमिलो, पिरो, चिल्लो बढी मात्रामा खाने, अदुवा, लसुन, मरिच, टिमुर, बेसार पानी आदिको प्रयोग गर्ने, तिलको तेलले मालिस गर्ने, प्रशस्त पानी पिउने, शाकाहारी भोजन गर्ने लगायतका विभिन्नखालका तर्क वितर्कहरु समाचारहरुमा आईरहेको भएपनि यस्ता कार्यहरुले कोरोना भाइरसको संक्रमण घटाउने पुष्टि भएको छैन । त्यसमाथि सिधै फोक्सोमा असर गर्ने धुम्रपानले त भाइरसको संक्रमण कम गर्ने होईन बढाउने काम गर्दछ । त्यस्तै लसुन, बोझो, कागती, बेसार, जिम्बु लगायतका जडिबुटीहरु खानु स्वास्थ्यको लागि लाभदायक हो । तर कोरोना भाइरस नियन्त्रण गर्ने आधार भने होईन ।

कोरोना भाइरस अत्यन्तै संवेदनशील प्रकोप भएकाले हाम्रो असावधानीले पनि समाजमा धेरै भय र आतंक सिर्जना हुनसक्ने हुँदा सबैले रचनात्मक सहयोग गर्ने खालको वातावरण बनाउन सकियो भने आमनागरिकलाई सचेत गराउन र यो रोगबाट बचाउन सबै सहयोगी बन्न सकिन्छ । यस्तो बेलामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मानवीय व्यवहार नै हो । त्यसैले यो प्रकोपको समयमा हुने वर्गले निर्धक्कका साथ विपत्ति नियन्त्रणका लागि सहयोग गर्ने, विमानस्थल, बसपार्क, सिमा नाका लगायतका हेल्थ डेस्कलाई थप आधुनिक, व्यवस्थित र परिमार्जित गर्ने, संक्रमण हुन नदिन सबैले सजगता अपनाउने, क्षमताले भ्याएसम्म राज्यका तर्फबाट रोगको महामारी हुन नदिने र रोग निर्मूलका लागि कुनै कसर बाँकी नराखी कार्य गर्ने नै यो भाइरस नियन्त्रणको उत्तम विकल्प हो । त्यस्तै कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, अप्रत्यासित टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिहरु अझबढी सतर्क हुनु राम्रो हुन्छ । त्यस्तै अहिले मानिसहरुमा मास्क लगाएमा कोरोना सर्दैन भन्ने बुझाई छ । तर मास्कले कोरोना सर्नबाट रोक्ने होईन । यसको मुख्य माध्यम भनेको खोकी र संक्रमित वस्तुमा हुने छुवाई नै हो । यसका साथै कोरोना लागेको व्यक्तिले छुँदा, खोक्दा, हाछ्यूँ गर्दा, हात मिलाउँदा यो भाइरस सर्ने गर्दछ । यो रोग हावाको माध्यमबाट छिटो सर्ने भएकाले मानिसहरु सतर्क हुनु एकदमै जरुरी छ । त्यसैले कोरोना लागेको व्यक्ति सामान्य मानिस भएको ठाउँमा नजाने, संक्रमित वस्तु नछुने, र्‍याल, खकार, सिँगान लगायतका फोहोरहरु जथाभावी नफाल्ने नै यो प्रकोपबाट सुरक्षित हुने महत्वपूर्ण उपाय हो ।

यतिखेर सम्पूर्ण विश्व ठूलो संकटबाट गुज्रिरहेको छ । हतियार तथा परमाणुको प्रयोग जस्ता भयानक घटनाबाट समेत सुरक्षित महशुस गरिरहेको विश्व समाज अहिले अदृश्य भाइरसको प्रकोपका कारण इन्तु न चिन्तुको अवस्थामा पुगेको छ । यो स्तरको सर्वव्यापी त्रासदी पहिलो र दोस्रो विश्वयुद्धमा पनि थिएन होला । त्यसैले विश्व त्रस्त, आतंकित, भयभीत र पिडित छ । यस कोरोना नामक अदृश्य शत्रुले समस्त विश्वलाई आक्रान्त पारेको छ । यो शत्रु कुनै अस्त्रधारी आतंककारी पनि होईन, तर हजारौं अस्त्रहरु भन्दा धेरै गुणा बढी खतरनाक देखिएको छ र यो शत्रु सम्पर्कमा आउना साथै पौराणिक ग्रन्थहरुमा वर्णित रक्तबीज दानवझैं हजारौंको संख्यामा वृद्धि हुँदै संसारभर फैलिरहेको छ ।

प्राकृतिक प्रकोप र त्यस्ता महामारीले गर्ने जनधनको क्षति स्वाभाविक रुपमा बढी सार्वजनिक सरोकारको विषय बन्ने गर्दछ । त्यो सँगै यस्तो कठिन परिस्थितिले दीर्घकालीन रुपमा मानव जीवनमा निम्त्याउने कठिनाईहरु पनि निकै पीडादायी हुने गर्छन् । साथै पश्चिमा विकसित मुलुकहरु समेत विषाणुको संक्रमणसँग जुध्न र जनजीवन सामान्य राख्न असफल भईरहेको अहिलेको अवस्थामा स्रोत साधनले कमजोर नेपालजस्तो मुलुकका लागि प्रकोपको सम्भावित जोखिमसँग जुध्ने कार्य निकै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा सरकारले आफ्नो ठाउँबाट प्रयत्नहरु गरिरहेको भएपनि यो संकट सँग जुध्न सरकार एक्लैले सक्दैन । त्यसैले निजी क्षेत्र र नागरिक तहबाट पनि सबैले आफूले सकेको पहल गर्नु अनिवार्य आवश्यकता छ । किनकी सरकारलाई सघाउन तथा मुलुकको अवस्था सामान्य राख्न मात्र नभई आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन पनि यतिबेला नागरीकहरुमा सचेतना र सहयोगको भावना हुनैपर्ने देखिन्छ ।

सरकारका तर्फबाट पटक पटक नागरिकहरुलाई सावधान रहन, सरसफाईमा उचित ध्यान दिन, साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाह बाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह लिन, धैर्यवान र सावधान हुन, संयमता अपनाउन र आतंकित नहुन, संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन, सेल्फ क्वारेन्टाइन वा आइसोलेशनमा बसी अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरिएको छ, जुन कुराहरुको यथार्थ परिपालना नै कोरोना भाइरस बाट बच्ने तथा बचाउने अहिलेसम्मको सर्वोत्तम उपाय हो ।

कोरोना भाइरसबाट उत्पन्न महामारी पश्चात् नागरिक सचेतनाका केही राम्रा कार्यहरु हुन थालेका छन् । जहाँकि केही समाजसेवी युवाहरुले सीमा नाकाहरुमा भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचमा सघाइरहेको, शहरका चोक तथा दोबाटोहरुमा सर्वसाधारणहरुका लागि साबुन पानीले हात धुने व्यवस्था गरिएको, निशुल्क रुपमा मास्क, सेनिटाइजर वितरण गरिएको, विमानस्थलहरुमा स्वास्थ्य सुरक्षा निगरानी बढाईएको, शहर तथा टोल सरसफाईमा सक्रियता देखाईएको, विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवी, व्यापारीहरुले व्यक्तिगत रुपमा सहयोग गरिरहेको र सहयोग गर्नका लागि तयार भएको लगायतका कार्यहरुले निरन्तरता पाईरहेकोमा यस्ता कार्यलाई अझ व्यापक बनाउन सक्ने हो भने सबैको हित हुनुको साथै भाइरस नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ ।

अर्कोतर्फ यस संक्रमणबाट जोगिने प्रमुख उपाय भनेको लकडाउनको समयमा सकेसम्म घरबाट बाहिर ननिस्किनु हो । साथै यो भाइरसको संक्रमण सबै उमेर समुहका मानिसहरुमा हुनसक्ने भएपनि वृद्धवृद्धा वा जोखिममा भएका समूह यसमा बढी सावधान हुनुपर्छ । सरकारले अत्यावश्यकीय सेवा बाहेकका कार्यालयहरु केही दिनका लागि बन्द गर्नुको कारण पनि यही हो । हामी नागरिकहरुले यसको अर्थ बुझ्न सक्नुपर्छ । बाहिरफेर निस्किनुपर्ने घरका सदस्यले परिवारमा जोखिममा भएका व्यक्तिसँग निश्चित दूरी कायम गर्नुपर्छ । बाहिर निस्कँदा पनि सकेसम्म भीडभाडमा नजाने र अनिवार्य मास्कको प्रयोग गर्नुपर्दछ । किनकी सामाजिक दूरी जति बढी कायम गर्न सक्यो, संक्रमणको जोखिम त्यति नै कम हुन्छ ।

खासगरी कोरोना प्रभावित बाह्य मुलुकबाट आएकाहरु बढी सतर्क भई दुई सातासम्म घरमै ‘क्वारेन्टाइन’ मा बस्नुपर्छ । किनभने कसलाई संक्रमण छ, कसलाई छैन भन्ने सजिलै थाहा हुँदैन । कुनै व्यक्तिलाई संक्रमण भएको लक्षण देखिँदासम्म उस मार्फत धेरैलाई रोग सरिसकेको हुनपनि सक्छ । त्यसैले आफू, आफ्नो परिवार र समुदाय सबैलाई जोखिमबाट टाढा राख्न बाह्य मुलुक तथा सीमा पारी बाट आएका नागरिकहरु अत्यन्त सचेत बन्ने, संकटको यो घडीमा यस्ता व्यक्तिले आफूलाई कडा अनुशासनमा राख्नुका साथै सरकारी अनुरोधको समेत पालना गर्नु सबैको हितमा हुन्छ ।

अहिलेको संकटमा नागरिकहरुले पसल नै रित्तिने र बजारको आपूर्ति प्रणाली प्रभावित हुने गरी अनावश्यक खाद्यान्न सञ्चय गर्नु हुँदैन । सबैजनाले उस्तै संकट बेहोर्नुपरेको यो घडीमा कसैलेपनि ‘मै खाउँ, मै लाउँँ’ भन्ने लालचा राख्नु उचित होईन । किनकी लामोसमय सम्म संकट लम्बियो भने यस्तो प्रवृत्तिका कारण भोलि कसैकोमा घरभरी खाद्यान्न हुने, कसैले हातमा पैसा हुँदा पनि पसलमा किन्न नपाउने परिस्थिति सिर्जना हुन सक्छ । त्यसैले अहिले हरेक नेपालीमा जिम्मेवारीबोध, सहयोगी भावना र मानवीयताको खाँचो छ ।

वास्तवमा यो भाइरससँग गरिएको लापरवाही र यसको प्रभावको अवमूल्यनका कारण यसलाई विश्वव्यापी रुपमा फैलिन सजिलो भयो । फलस्वरुप कोरोनाले चीन पार गरी इटाली, अमेरिका हुँदै फ्रान्स, जर्मनी, स्पेन, स्विटजरल्यान्ड, बेलायत, भारत समेत लाई स्पर्श मात्रै गरेन, यतिबेला गाँजिरहेको छ । यति हुँदा–हुँदै पनि अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाका, सार्वजनिक स्थल तथा यातायात, क्वारेन्टाइन, आइसोलेसन (एकान्तबास) लगायतका संवेदनशील बिषयहरुमा नेपाल सरकारले अझैपनि पर्याप्त ध्यान दिन सकिरहेको छैन । त्यसैले सरकार निर्णय मात्रै गर्ने तर कार्यान्वयन गर्ने निकायहरुमा यथेष्ठ तत्परताका साथै सेवा भाव भएन भने कार्य सम्पादन भरपर्दो नहुनुको साथै क्षणभरमा नै संक्रमण देशव्यापी हुने खतरा बढिरहेको छ ।

निश्चय नै कडाइका साथ नियम पालन गरे गराएमा भाइरस संक्रमण रोकथाम हुन्छ । तर यति नराम्ररी थलिएको विश्व फेरि कसरी उठ्छ, पहिलाकै अवस्थामा फर्किन्छ कि फर्किदैन, यसले अरु कति मानवीय क्षति गर्छ, अर्थतन्त्रको हालत के हुन्छ, यी सवालहरु अनुमान बाहिरै छन् । किनकी यसबारे गरिने आँकलन अहिले कुनैपनि अर्थशास्त्री, समाजशास्त्री, राजनीतिशास्त्रीको वशको गणित हुन सक्दैन । किनकी समुन्नत भनिएका राष्ट्रहरु नै आज ठप्प छन् र अत्यन्त उत्तम भनी मानिआएको व्यवस्थाले पनि काम गरिरहेको छैन भने यसप्रकारका शत्रुको सामना गर्ने हिसाबले प्रचलित प्रणालीहरु नबनेको हुँदा व्यवस्थाहरु जरैदेखि हल्लिएका छन्, यो शत्रु भयानक छ र भविष्यका गर्भमा यस्ता अरु शत्रु पनि पक्कै पर्खिरहेका होलान् र आज पृथ्वीमा जतिपनि जीवित मानिस छन्, यतिखेर उनीहरु पहिले कहिल्यै नभोगेको अवस्था भोग्दै छन् ।

विश्वव्यापी कोरोना भाइरस संक्रमण र नेपालको सन्दर्भमा कुरा गर्दा सेल्फ क्वारेनटाइन, आइसोलेसन, आइसीयु बेड, नर्मल बेड थप गर्ने, स्वास्थ्यकर्मी डाक्टर तथा नर्स र सुरक्षाकर्मीहरुका लागि सुरक्षित पोशाक उपलब्ध गराउने, सीमा नाका बन्द गर्ने, लकडाउनमा कडाई गर्ने, कोरोना भाइरस चेक गर्ने किट उपलब्ध गराउने लगायतका कार्यहरुमा सरकारले भरपूर ध्यान दिन सकिरहेको अवस्था छैन ।

अर्कोतर्फ अस्पतालहरुले बिरामी भर्ना गर्न नमान्ने, क्वारेनटाइनमा राखिएका व्यक्तिहरु भाग्ने, देशभर भाइरस चेकजाँचको सुविधा नहुने, दिनभर मजदुरी गरी रोजीरोटी चलाउनुपर्ने वर्गहरुका लागि राहातको कार्यक्रम नहुने लगायतका कारणहरुले यदि कोरोना भाइरसको संक्रमण बढ्दै जाने हो भने हाम्रो असावधानीकै कारण ठूलो महामारी उत्पन्न हुन सक्ने देखिन्छ । त्यसैले यस्तो बिषम परिस्थितीमा राजनीति, भ्रष्टाचार, कालोबजारीजस्ता अमानवीय कार्यहरु नगरी सरोकारवाला नागरीक, नागरीक समाज, मानवअधिकारकर्मी, सुरक्षा निकाय, राजनीतिक दल, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था लगायत सबैले हातेमालो गरी कोरोना भाइरस विरुद्धको विश्वव्यापी महाअभियानमा सहभागिता जनाउनु नै मानव हितमा हुनेछ । (लेखक अधिवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्