अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय  पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् ।

उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, "अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा राम्रो हुन्छ । तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।"

उनले अहिले अस्ट्रेलियाले आफ्ना नागरिकलाई बढी ध्यान दिएकोसमेत बताए । उनले भने, "अहिले कोरोना संक्रमणको संकटका बेला अस्ट्रेलियाले आफ्‍ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको छ ।"

प्रधानमन्त्री मोरिसनले आफ्नै कमाइले टिक्न नसक्ने विभिन्‍न मुलुकबाट विद्यार्थीहरुलाई समेत आ-आफ्नै मुलुक फर्किने बेला भएको बताएका छन् । उनले भने, "अस्ट्रेलियामा आएर पहिलो वर्ष अध्ययन गरिरहेका विद्यार्थीहरु जसले आफ्नो पढाइलाई एक वर्षसम्म धान्‍न सक्दैनन् । उनीहरुका लागि आफ्नो घर फर्किने विकल्प पनि छ ।"

मोरिसनले अरु देशबाट अस्ट्रेलिया पुगेर त्यहाँ फलफूल टिप्‍ने वा अन्य मौसमी कृषि काम गर्न चाहनेले त्यहाँको एक ठाउँबाट अर्को ठाउँ पुगेपछि १४ दिन अनिवार्य सेल्फ-आइसोलेसनमा बस्नुपर्नेसमेत बताएका छन् ।

अन्य विभिन्‍न भिसामा अस्ट्रेलियामा रहेकाहरुले पनि अनिवार्य यहाँ बस्‍नुपर्ने बाध्यता नरहेको उनले बताए । उनले अस्ट्रेलियाको सीमा अहिले बन्द भइनसकेको जानकारी दिँदै भने, "अन्य मुलुकबाट फर्किने नागरिकलाई पनि सीमा खुला छ । उनीहरुलाई १४ दिनको अनिवार्य क्‍वारेन्टाइनका लागि सरकारले होटले व्यवस्था गरेको छ ।"

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ । - हफिङटन पोस्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्