सीमामा अलपत्र नेपालीबारे सरकारलाई विवेकशीलको यस्तो सुझाव

सीमामा अलपत्र नेपालीबारे सरकारलाई विवेकशीलको यस्तो सुझाव

सीमामा अलपत्र परेका नेपालीलाई मुलुकमा ल्याएर स्वास्थ्य निगरानी राख्‍न विवेकशील नेपाली दलले सरकारलाई सुझाएको छ ।

दलले सरकारका नाममा आज चारबुँदे सुझाव लेख्दै सीमामा अलपत्र नेपालीलाई मुलुक छिर्न दिएर उचित खानपानको व्यवस्था गर्न पनि माग गरेको छ ।

‘‘भारतका विभिन्न सहरमा काम गर्न गएका नेपाली नागरिकहरु कठिन अवरोधहरुलाई छिचोल्दै देशको सीमासम्म आइपुगेका छन् र उनीहरुलाई देशभित्र छिर्न नदिएको अवस्था अहिलेको यथार्थ हो । उनीहरुलाई देशभित्र प्रवेश गर्न नदिनु मानवीय हिसाबले उपयुक्त नभएको निष्कर्ष विवेकशील नेपाली दलले निकालेकोले उनीहरुको व्यवस्थापनका लागि सरकारलाई सुझावहरु दिन चाहन्छौं,’’ दलद्बारा जारी सुझावपत्रमा छ ।

दलले जारी गरेका चारबुँदे सुझाव यस्ता :
१.    कोभिड १९ ले दुई देशमा अड्किएका एक-अर्काका नागरिकका लागि सहयोग समन्वयन गर्न नेपाल-भारत आपतकालीन समन्वयन समिति तत्काल गठन गर्ने ।
२.    सीमामा आइपुगेका नेपाली नागरिकहरुलाई आफ्नो देश प्रवेश गर्न अनुमति दिएर खानपिन तथा बसोबासको उपयुक्त प्रबन्ध भएको क्‍वारेन्टाइनमा राख्‍न संघीय सरकारले प्रबन्ध मिलाउने ।
३.    भारतका विभिन्न सहरहरुमा रहेका नेपालीहरुको अवस्था बुझ्‍न तुरुन्तै दूतावासले हटलाइन सेवा सञ्‍चालन गर्ने तथा त्यही रहनका लागि यदि आवश्यक प्रबन्ध गर्नुपरे सोका लागि भारत सरकारसँग समन्वय गर्ने र उसको अनुमतिमा अन्य संघ-संस्थाहरुलाई पनि परिचालन गर्ने ।
४.    भारतबाहेक अन्य मुलुकमा रहेका नेपालीहरुका सम्बन्धमा कूटनीतिक नियोगहरुलाई पूर्ण सक्रिय बनाउँदै आफ्नो नागरिकका स्थितिबारे जानकारी लिने तथा उनीहरुलाई तत्काल सहयोग चाहिए त्यहाँको सरकार तथा निजको अनुमतिमा स्थानीय संघ-संस्थासँग समन्वय गरी व्यवस्था गर्ने ।

साथै विदेशमा रहेका नेपाली नागरिकहरुले पनि एक-अर्कालाई मानवीय सहयोग गर्ने तथा उक्त देशको प्रचलित ऐन कानुन तथा यस संक्रमणलाई रोक्न जारी भएका आदेश पालना गर्दै सुरक्षित रहन दलले आग्रह गरेको छ ।

यस्तै दलले आवश्यकतामा परेका नेपाली नागरिक तथा अन्य व्यक्तिहरुलाई सम्भव भएसम्मको सहयोग गर्न विदेशमा खुलेका नेपाली संघसंस्थाहरुलाई पनि आह्वान गरेको दलकी उपाध्यक्ष अजिता राईले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्