कोरोनाले अस्ट्रेलियामा अस्थायी भिसाबाहक र विद्यार्थीको बिचल्ली, यस्तो छ नयाँ नियम

कोरोनाले अस्ट्रेलियामा अस्थायी भिसाबाहक र विद्यार्थीको बिचल्ली, यस्तो छ नयाँ नियम

अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ ।

यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् ।

अस्ट्रेलियाको मानव सेवा, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्रालयले अस्थायी भिसामा बसोबास गर्ने झन्डै २१ लाख १७ हजार व्यक्तिमा यो नियम आकर्षित हुने जनाएको छ । अस्ट्रेलियामा महामारीका कारण पार्टटाइमको काम गर्ने अवसरबाट विमुख अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा भने कुनै सहुलियतको योजना छैन ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अस्ट्रेलियामा ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । उनीहरुमध्ये अधिकांश उच्च शिक्षा वा प्राविधिक शिक्षा पढ्दैछन् । पहिलो वर्ष अस्ट्रेलियामा जागिर नगरी बाँच्नसक्ने आधार प्रस्तुत गरेका विद्यार्थीले आफ्नो निर्वाह आफैं गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता विद्यार्थीका लागि संकटको समय सहयोग पुग्ने कुनै कार्यक्रम सरकारले ल्याएको छैन । परिवारसँग पैसा मगाएर निर्वाह गर्न सुझाव दिइएको छ ।

१२ महिनाभन्दा लामो समय अस्ट्रेलिया बसेका अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा जागिर नपाएर कठिन परिस्थिती निम्तने अवस्था देखिए अस्ट्रेलियामा नियमअनुसार सिञ्चित रकमनिकाल्न पाइने व्यवस्था छ ।

संकटसँग जुध्नका लागि आवश्यक सञ्चित रकम वा साथ–सहयोग नभएकालार्ई संभव भएसम्म चाडोंभन्दा चाडों घर फर्कन भनिएको छ । स्वास्थ, अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धाको हेरचाह, कृषि र खाद्य प्रशोधन क्षेत्रलगायत अत्यावश्यक क्षेत्रमा कार्यरत अस्थायी भिसाबाहकले भने आफ्नो भिसा तत्कालका लागि बढाउन पाउनेछन् ।

यसबारे सरकारले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग मिलेर थप छलफल गर्ने विज्ञप्तीमा उल्लेख छ । पहिल्यै कठिन अवस्था सामना गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई यस्ता शैक्षिक संस्थाको सहयोगमा केही आर्थिक सहायता उपलब्ध गराइएको विज्ञप्तीमा उल्लेख छ ।

 

‘उदाहरणका लागि केही शिक्षादाता छन्, जसले विद्यार्थीलाई शुल्कमा छुट दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । कोरोना भाइरसका कारण कक्षाकोठा जान नपाएर आफ्नो भिसा सर्त पूरा गर्न नसकेका विद्यार्थीबारे पनि सरकार लचिलो हुने उल्लेख छ ।

यी विद्यार्थीलाई तत्कालीन राहत 
विज्ञप्तिमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुले दुई सातामा ४० घण्टासम्म काम गर्न पाउँछन् । वृद्धवृद्धाको हेरचाह र नर्सका रुपमा कार्यरत विद्यार्थीका हकमा आवश्यकताका अनुसार समय अवधि बढाउन सकिने उल्लेख छ । सुपर मार्केटमा कार्यरत विद्यार्थीले पनि उच्च माग रहेको अहिलेको समयमा बढीले काम गर्न पाउनेछन् । तर, १ मेदेखिअन्तर्राष्ट्रिय विद्यार्थीले प्रतिघण्टा फेरि अधिकतम ४० घण्टामात्रै काम गर्न पाउनेछन् र धेरैभन्दा अस्टे«लियनलाई यस्ता काममा प्राथमिकता दिइनेछ ।

अस्ट्रेलियामा दक्ष कामदार भिसामा बसेका झन्डै १ लाख ३९ हजार विदेशीमध्ये महामारीका कारण रोजगारी गुमाएकालाई  पनि घर फर्कन प्रेरित गरिएको छ । ‘उनीहरुलाई दक्ष कामदारको अभाव हुँदा यो भिसा दिइएको थियो , संकट समाप्त भएपछि फेरि यस्तो अवसर आउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भिसा होल्डरले विद्यमान भिसा शर्त अनुसार नयाँ प्रायोजक भेट्न सकेनन् भने देश छाड्नुपर्नेछ । यद्यपी ४ वर्षे भिसा होल्डरले महामारी सकिएपछि फेरि जागिर पाउनेछन्, उनीहरुले अहिले अस्ट्रेलियामा बिताएको समय पनि दक्ष कामदरका रुपमा पिआर लिनका लागि आवश्यक योग्यतामा गणना हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियामा ११ लाख ८ हजार व्यक्ति वर्किङ होलिडे भिसा वा भ्रमणभिसामा छन्, जसले काम गर्ने अधिकार पाएका छन् । स्वास्थ क्षेत्र वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिको हेरचाह, कृषि तथा खाद्यान्न प्रशोधनलगायतका  क्षेत्रमा काम गरिरहेका व्यक्तिको हकमा ६ महिनामा भिसा थपिएपनि यसलाई आवश्यकताका आधारमा थप गर्न सकिने उल्लेख छ । तर, बाँकी समय बाँच्नसक्छु भन्ने आत्मविश्वास नभएका अर्थात् अहिले कुनै काम नभएकालाई आफ्नो देश फर्कन भनिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अस्ट्रेलियामा तीन महिना वा त्योभन्दा कम समय अवधिको भिसा पाएका २ लाख ३ हजार अन्तर्राष्ट्रिय पर्यटक छन् । यी पर्यटकलाई निर्वाह गर्नसक्ने अवस्था नरहे यथासक्य चाडों घर फर्कन भनिएको छ ।
अस्ट्रेलियामा अन्य विभिन्न शीर्षकमा १ लाख ८५ हजार अस्थायी भिसावाहक पनि छन्  । उनीहरुलाई पनि अस्ट्रेलिया बस्न सक्ने अवस्था नरहे घर फर्कन भनिएको छ ।

नेपालीको रोजाइको गन्तव्य 
नेपालबाट वर्षेनी ठूलो संख्यामा विद्यार्थीहरु अस्ट्रेलिया जाने गरेका छन् । अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांक २०१९ अनुसार नेपाली विद्यार्थीको संख्या कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ७ प्रतिशत छ, चीन र भारतपछि तेस्रो नम्बरमा नेपाल आउँछ ।

२०१९ मा ६६ हजार ५ सय विद्यार्थी नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया गएका थिए । त्यस्तै, जनवरी २०२० मा भर्ना भएका ५ लाख २७ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ८ प्रतिशत अर्थात् ४२ हजार १ सय ६० जना नेपालका थिए । नेपालमा अस्ट्रेलियामा विद्यार्थी पठाउने झन्डै ३ हजार कन्सल्टेन्सी छन् ।

-रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्