कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।
नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उहाँले बताउनुभयो ।
बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।
कि किनिदेउ कि बेच्न देउ
उर्लाबारीबाट प्राप्त समाचार अनुसार ३० देखि ४५ दिनभित्र बेची सक्नुपर्ने कुखुरा ५६ दिनको भइसक्दा पनि बेच्न नपाएको गुनासो किसानको छ । उनीहरूले कि किनिदने नभए बेच्न दिन माग गरेका छन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोरमै थन्किएको रोजगार पोल्ट्री एन्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताउनुभयो ।
पूर्वी मोरङका मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चरे, लेटाङ र काने पोखरीमा ६० भन्दा बढी डिलर छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ ।
सामान्यतया दुई सय कुखुरा पाल्न किसानको एक लाख रुपियाँ खर्च हुने गर्छ । औसत प्रतिकेजी दुई सय रुपियाँमा बिक्री हुने कुखुरा लकडाउन भएयता बिक्री ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग सहरी क्षेत्रमा हुने गरेको छ । गाउँबाट सहर पु¥याउन नसक्दा १० हजार कुखुरा खोरमै थन्किएका छन् ।
अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रूपमा बन्द हुँदा कुखुराको माग शून्य छ ।
किसानले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइदिन बारम्बार आग्रह गरेका छन् तर स्थानीय सरकारले पनि बेवास्था गरेको किसान रमेश गिरीले बताउनुभयो । उता पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका तीनवटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताउनुभयो ।