किरियापुत्री पनि होम क्वारेन्टाइनमा

किरियापुत्री पनि होम क्वारेन्टाइनमा

नरेन्द्र ढकाल

गोरखा, चैत २६ गते । कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरिरहेका बेला गोरखामा भने पारिवारीक दुरी समेत कायम हुन थालेको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आमाको किरिया बसेका छोराहरुले समेत सावधानी अपनाएका छन् ।

सोमबार ९७ वर्षीय श्रीमायाँ भट्टको मृत्यु भएपछि काजकिरिया बसेका ४ छोरा मध्ये काठमाडाैँबाट आएका माइला छोरा टेकनीधि भट्ट भने अलगै बस्नुभएको छ । ‘उहाँहरु चारै जना एउटै कोठामा बस्नुभएको छ,’ छिमेकी बिनोद पाण्डेले भन्नुभयो, ‘तर गाउँमै रहनुभएका ठुल्दाई सहित तीन दाजुभाई एक ठाउँमा र काठमाडाैँबाट आउनुभएका माइला दाइलाई भने २ मिटर पर अर्कै बिस्तारामा बस्ने व्यवस्था मिलाई छ ।’

सरकारले एक प्रदेशदेखि अर्को प्रदेश, एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म आवातजावतमा प्रतिबन्ध लगाएकाले काठमाडाैँ आएका टेकनीधिलाई क्वारेन्टाइन स्वरुप अलगै राखिएको हो । उहाँले खानपान र अन्य कार्यमा समेत अरु दाजुभाईहरुले संसर्ग नगर्ने तयारी गरिएको स्थानीयले बताएका छन् । हजुरआमाको मृत्युपछि गाउँपुगेका टेकनीधि छोराछोरीलाई पनि परिवारका अन्य सदस्य भन्दा अलगै छुट्टै कोठामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

श्रीमायाँको अन्त्येष्टिमा पनि स्थानीयले सावधानी अपनाएका थिए । त्यहाँ गठित कोरोना प्रतिकार्य समितिले १२ जना मलामी छनोट गरी श्रीमायाँको अन्त्येष्टिको लागि पठाएको थियो । ‘हाम्रो गाउँमा करिब ९० घर छ । सबै घरबाट एक/एक जना उहाँको मलामी जाने चलन हुन्छ,’ उपल्लो गोहोर पाण्डेगाउँ प्रतिकार्य समितिका संयोजक रामचन्द्र पाण्डेले भन्नुभयो, ‘यस्तो बेला सबै हुलबाँधेर जाने कुरा भएन । नगई नहुने र बोक्न सक्ने बलिया छानेर १२ जनालाई मात्र सागर बठाइयो ।’ करिब २ घण्टा टाढा रहेको अखुर्लको धर्मवती घाटसम्म १२ जनाले मात्र माक्स र सेनिटाइजर लगाएर शव बोकेर पु-याएका थिए । दाउरा भने ट्याक्टरमा लैजाने प्रबन्ध मिलाइएको थियो ।

‘गाउँपालिकाको निर्णय र निर्देशनका आधारमा हामीले टोलटोलमा कोरोना प्रतिकार्य समिति बनाएका छौं’ वडा अध्यक्ष सुरज ढकालले भन्नुभयो, ‘उक्त समितिले गाउँलाई निगरानी गरिरहेको छ । गाउँमा आएका नयाँ मानिसलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । अटेर गर्नेलाई जहाँबाट आएको हो उहीँ फिर्ता पठाउने काम समेत भएको छ ।’ उक्त वडामा पाहुना बनेर र माइती आएका तीन जनाले क्वारेन्टाइनमा बस्न अस्वीकार गरेपछि घरमै प्रवेश गर्न नदिई कोरोना प्रतिकार्य समितिले फिर्ता पठाइदिएको उपल्लो गोहोर दलितबस्ती प्रतिकार्य समितिका संयोजक अनिल विकले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न सावधानी अपनाएको छ । उक्त गाउँको ८ वडामा गरी कुल १४८ कोरोना प्रतिकार्य समिति गठन गरिएको छ । ‘हरेक गाउँटोलका १० देखि ३० घर (भूगोल हेरेर) समेटेर समिति गठन गरिएको छ,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘उक्त समितिले आफ्नो गाउँका मानिसहरु सबै मानिसको लगत संकलन गरेको छ । विदेशबाट मात्र होइन । काठमाण्डौ, चितवन, पोखरा लगायत गोरखाबजार र अर्को वडाबाट आएको मानिसको समेत रेर्कड राखिएको छ ।’ उक्त समितिले गाउँ प्रवेश गर्ने नाका बन्द गर्नुका साथै, गाउँमा मानिस भेला भए नभएको निगरानी समेत गर्छ । गाउँमा रहेका ज्यालामजदुरी गर्ने विपन्न समूदायको पहिचान गरी समिति मार्फत राहत उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।

‘हामीले आवश्यकता आधारमा गाउँमा क्वारेन्टिन पनि बनाएका छौं । विदेशमात्र होइन गाउँभन्दा बाहिरबाट आएका व्यक्तिहरुलाई समेत क्वारेन्टिनमा राखिएको अवस्था छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाको पहललाई वडा र स्थानीयबासीले समेत अपन्त्व लिएर काम गरिदिनुभएको छ ।’

कोरोना प्रतिकार्य समितिले गाउँ–गाउँमा सामाजिक दुरी कायम गर्ने संकेत र बजार तथा घरहरुमा डोरीले घेराबार समेत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्