नेपालमा पछिल्लो पाँच दिनमा कोरोना भाइरसको संक्रमित भेटिएनन्

नेपालमा पछिल्लो पाँच दिनमा कोरोना भाइरसको संक्रमित भेटिएनन्

सरोज ढुंगेल
काठमाडाैं,चैत २७ गते । पछिल्लो पाँच दिनमा कोरोना भाइरस (कोभिड १९) का लागि गरिएका सबै नमूना परीक्षणमा भाइरस फेला परेको छैन ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा गरिएका परीक्षणमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म दुई हजार ८९५ जनाको नमूना परीक्षण गरिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार ३८२ र उपत्यका बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिँदै उहाँले थप १९३ जनाको नमूना परीक्षण भइरहेको बताउनुभयो । डा. देवकोटाका अनुसार देशभर ११७ जना आइसोलेसनमा रहेका छन् । काठमाडौंमा १८ र बाहिर ९९ जना कोरोना आशंकित व्यक्ति आइसोलेसनमा रहेका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रत्येक प्रदेशमा पाँच हजार थान ¥यापिड टेस्ट किट पठाइएको छ । उहाँले कैलाली र कञ्चनपुरबाट प्राप्त भएका ६६ वटा नमूनाको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिनुभयो । डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको निदानका लागि परीक्षणको दायरा बढाइएको स्पष्ट पार्नुभयो । देशभर १० स्थानबाट परीक्षण भइरहेको छ भन्दै डा. देवकोटाले थप्नुभयो, ‘‘यसले गर्दा परीक्षणको दायरा बढेको छ ।’’

मन्त्रालयले वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल ,सेती प्रादेशिक अस्पताल धनगढी, हेटौडा, भैरहवा र चितवनबाट नमूना परीक्षण गरिरहेको छ । नेपालमा हालसम्म सङक्रमणको पुष्टि भएका आठ जना विदेशबाट फर्किएका र अर्का एक जनामा स्थानीय सङक्रमण रहेको छ । पहिलो सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्नुभएको छ भने अन्य आठजना उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्