कोरोना महामारी र हाम्रो जिम्मेवारी – नयन झा

कोरोना महामारी र हाम्रो जिम्मेवारी – नयन झा

लगभग चार महिना अघि चीन बाट सुरु भएको कोभिड- १९ नामले प्रख्यात कोरोना भाइरसले विश्व व्यापी रुपमा महामारी को रुप लिईसकेको अवस्था छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्व भरी अहिले सम्म एक लाख भन्दा बढिले आफ्नो ज्यान गुमाइ सके भने यस भाइरसले तिब्र रुपमा आफ्नो प्रभाव फैलाउदै गएको छ । छिमेकि राष्ट्र भारतमा पनि यस्को प्रभाव बिकराल देख्न सकिन्छ ।

हाम्रो देशमा पनि विभिन्न सावधानी र सतर्कता अपनाउदै बिगत १९ दिन देखि लकडाउन गरिएको अवस्थामा पनि ९ जना जति संक्रमीत पुष्टि हुनुका साथै हामी महामारीको दोस्रो चरणबाट गुज्रिरहेका छौ ।

यस अवस्था सरकार र हामी सबैको जिम्मेवारी पनि बढेको छ । यस कठिन समयमा सबै एकजुट भएर आफ्नो कर्तव्यको पालनमा लाग्नु पर्ने हुन्छ । सरकारले व्यापक रुपमा परिक्षणको दर बढाउनु पर्छ । कम्तीमा पनि १२०० देखि १५०० दैनिक परिक्षण नभएसम्म सन्तोषजनक मान्न सकिने अवस्था छैन ।

आलोचना मात्रै भयो भनेर प्रतिरक्षा गर्दै बस्नु भन्दा किन आलोचना भयो त्यसको गल्ती सच्याउदै युद्ध स्तरमा सरकारी निकायहरु परिचालित गर्न जरुरी छ । लक डाउन गरिएको यतिका दिन भैसक्यो तर पनि दैनिकी ज्याला मजदुरी गरेर छाकटार्नेहरुको लागि सरकारको योजना अहिले सम्म बन्न सकेन ! तीन तहको सरकारबिच कुनै समन्वय देखिदैन । सरकारले पर्याप्त मात्रामा रासन छ भने पनि त्यो यथार्थमा देखिदैन । लकडाउनको कारन भोकमरीको अवस्था सिर्जना भै सक्दा पनि सरकारले न कुनै योजना बनाउन सकेको छ न त जनता लाई आश्वस्त बनाउन नै । सरकार कता कता अलमलिएको हो या अतालिएको सर्वसाधारणले बुझ्न सकेका छैनन । त्यसैले सरकारले देखिने गरि र जनता सम्म पुग्नेगरी कार्य गर्नु जरुरी छ ।

अहिले विभिन्न मिडियामा भ्रामक समाचारको बिगबिगी देख्न सकिन्छ । अफवाह फैलाउने र आफ्नो पेजमा पाठक बढाउने समय होइन यो । मानव अस्तित्व नै जोखिममा परेको यस विषम परिस्थितिमा एक अर्काको साथ र सहयोग अपरिहार्य हुन जान्छ । त्यसैले मिडियाले सत्य तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गरि जिम्मेवार बन्न जरुरी छ ।
अन्त्यमा कोरोना भाइरसको विरुद्धको लडाइमा सबै एकताबद्ध भै सामाजिक दुरि कायम गर्दै एक अर्काको सहयोगी बनौं । उच्च मनोबल , धैर्य ,आपसी सहयोग र सतर्कताले यो लडाइ जित्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्