कोरोना बन्दै छ पर्खाल – दिव्या गुरागाई

कोरोना बन्दै छ पर्खाल – दिव्या गुरागाई

पर्खाल धेरै किसिमका हुन्छन् । कुनै पर्खालले जोगाउँछन् त कुनैले तहसनहस पार्छन । जसरी इट्टाको पर्खाल बनाउनु मान्छेको हातमा हुन्छ त्यसैगरी सम्बन्धको बिचमा पर्खाल ठड्याउनु पनि सबै मान्छेकै हातमा हुन्छ। तर इट्टाबाट बनेका पर्खालहरु भत्काउनु जती सजिलो हुन्छ सम्बन्धको बिचमा बनेको पर्खाल तोड्न उत्तिनै गाह्रो। केही त्यस्ता पर्खालहरु त कहिलै पनि नफुट्ने गरी बिकराल रुप लिएर बसिदिन्छन् । शायद त्यस्तै कुनै पर्खाल यो कोरोनाले बनाउँदै छ कि! बिचार गरौँ!

जीवन सबैको अमुल्य छ। एउटा भ्यान्टिलेटरमा बसेर आफ्नु १०० औँ बर्ष बाँचिरहेको वृद्ध मानिसलाई पनि अझै बाँच्ने इच्छा हुन्छ। कलिलै उमेरमा दुर्घटनामा परेर ज्यान गुमाएकी ति सुन्तलीलाइ मर्ने मन त पक्कै थिएन। विज्ञान र अनुसन्धानले यो संसारलाई सजाएका छन्, असम्भब भनिएका कुराहरु पनि आज साधारण बनेका छन् तर जन्म र मृत्‍यु प्रकृतिका नियम हुन्। यो दुनियाँमा अजम्बरी त्यो मात्र हुन्छ जस्ले अरुको भलो गर्छ र आफ्नु जीवनको मोह नगरी अरुको लागि बाँच्छ। यसको उत्कृष्ट उदाहरण अहिलेको माहामारिमा ज्यानको बाजी थापेर अरुको निम्ती तत्पर रहेका चिकित्सा क्षेत्रका सम्पूर्ण व्यक्तिहरु अनी राहत बाँढ्दै हिंडेका समाजसेवी र कुशल राजनीतिज्ञ हुन्।

जीवन जती अमुल्य हुन्छ, त्यो भन्दा पनि अमुल्य सम्बन्ध हुन्छ। कोही आफ्ना रगतका नातालाई महत्व दिन्छन् त कोही आफ्ना मित्रताका अनी कोही भने मानवताको पूजा गर्छन्। तर जो कोही होस् आखिर मान्छे भएपछी भावना त सबैमा हुन्छ नै। जहाँँ माया र समाजसेवाको भावना हुन्छ, त्यहाँ कोरोनाको पनि केही महत्व हुन सक्दैन।

भगवान् कृष्णले अर्जुनलाई युद्धको बेला दिनु भएको अर्ती आज म फेरी सम्झिन चाहन्छु। "जसरी मान्छेले पुराना वस्त्रहरु त्यागेर नयाँ वस्त्र धारणा गर्दछ, त्यसैगरी आत्माले पनि पुराना तथा व्यर्थका शरीरहरुलाई त्यागी नविन भौतिक शरीर धारण गर्दछ।"(२.२२-श्रीमद्भग्वद्गिता यथारुप)

म धार्मिक हैन तर ज्ञानको सधैं पूजा गर्छु। प्राय मान्छेहरु आफुलाई अजम्बरी ठानेर बाँचिरहेका हुन्छन्। मनमा रिश राग पालेमा शरीरमा रोग लाग्छ, जिन्दगी र धनको मोहमा लिप्त भएमा जीवनमा सुख रहँदैन। यो शरीर त एक दिन नाश हुनु नै छ। बाँच्छ त केवल सम्बन्ध। तर सम्बन्धलाई छि-छि र दुर-दुर गर्ने मान्छे बाँचे पनि अक्सर जिउँदै मर्ने गर्छ।

अहिले कोरोनाको माहामारिको बेला अस्पातलमा बिरामीको जीवन रक्षाको निम्ती आफ्नै जीवन जोखिममा पारेर खटिएका डाक्टर, नर्स तथा सबै कर्मचारीलाई समाजले उपेक्षा गर्ने, उनिहरुसँग बोल्दा पनि आफुलाई कोरोना सर्ने जस्तो निच र अमानविय व्यवहारहरु गर्ने चलन मौलाइरहेका छन्।

त्यसैगरी आफ्नै नातासम्बन्ध बिचमा पनि आवत-जावत बन्द गराउने, दिदी-बहिनी र दाजु-भाइलाई एक अर्काबाट टाढा बनाउने अनी त्यही सडक आफु हिड्दा चाँही सुरक्षित र अरु हिड्दा चाँही
संक्रमण लिएर आएको मनोत्राश पालेर बस्ने र भयावह स्थितिको परिकल्पना गर्ने मानसिकता बढ्दो छ।

अहिलेको यो कठिन परिस्थितीमा उपेक्षा गरिएका ति मानिसहरु नै भोलिको दिनमा आफुलाई काम लाग्ने छन् भन्ने कुरा हामीले कहिलै बिर्सिनु हुँदैन। भनिन्छ फालिएको फोहोर पनि काम लाग्छ, हामीले अहिले हेला गरेका त ति नै अमुल्य मान्छेहरु हुन् जस्ले हिजोको दिनमा हामीलाई कुनै न कुनै किसिमले सहयोग र साथ दिएका थिए। जसरी बैशाख १२ को भुकम्पले भौतिक र मानविय क्षती सङ्सँगै अनगिन्ती मनोरोगहरुको जन्म दियो त्यसैगरी यो कोरोनाको माहामारिले पनि मनोरोगलाई भब्य रुपले निमन्त्रणा नदेला भन्न सकिन्न। अनावश्यक पिरले आफ्नु तथा आफ्नु परिवारको मानसिक स्वाथ्यमा गहिरो असर पर्न सक्ने कुरालाई हामीले नजरअन्दाज गर्नै हुँदैन।

कोरोनाको मुख्य औषधी भनेकै आत्मबल हो। आत्मबलले क्यान्सर र एड्स जस्ता घातक रोगलाई पनि मात दिएका उदाहरणहरु हाम्रै समक्ष छन्। आफु स्व-अनुशासनमा बसेर बेला-बेला साबुन पानीले हात धुने, बाहिर निस्कदा मस्कको प्रयोग गर्ने र नयाँ व्यक्तिको सम्पर्कमा नआउने गरेमा कोरोना मात्र नभइ अरु रोगहरुबाट पनि बच्न सकिन्छ। तर मनमा अनावश्यक डर पालेर बसेमा आत्मबल झनै कम भएर अरु रोगहरु लाग्न सक्छन्।

कोरोनाबाट त्रसित सबैलाई म सजक रहेर आफ्नु मानसिक स्वाथ्यको पनि उत्तिकै ध्यान राख्नुहुन आह्वान गर्छु। वनको बाघले नखाए पनि मनको बाघले पक्कै खान्छ। कोरोनाले लगोस् या नलगोस् डरले चैँ पक्कै लग्छ। कोरोनाले सबै मर्दैनन् र को मर्छ पनि भन्न सकिन्न तर कोरोनाको पर्खालले चै तपाईं पक्कै पनि कसैको लागि जिउँदै मर्नु हुनेछ। कोरोनाको पर्खाललाई बहिस्कार गरौँ। यहाँ कोही अछुत छैन र कोरोना कस्लाई लागेको छ या छैन भन्न पनि सकिँदैन। घरमै बसौँ र मानवताको लागि कृपया अरुलाई छि-छि र दुर-दुर नगरौँ।

लेखक : दिव्या गुरागाई , पुसेट कलेज विराटनगर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्