आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री गर्न शुरु

आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री गर्न शुरु

काठमाडौं, चैत ३० ।

लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा (आइतबार) आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ ।

निगमका अनुसार  सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् ।

काठमाडौँ उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिण्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताए । उनका अनुसार विभिन्न नाकाबाट पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिरहेका कारण ग्यासको अभाव छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी सबै उद्योगीले आआफ्ना डिलरमार्फत बजारमा भरि सिलिण्डर ग्यास पठाइसकेको बताए ।

उनका अनुसार सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र ग्यासमा कुनै समस्या छैन । “सबै ग्यास उद्योगसँग दश हजार टन क्षमतामा ग्यास मौज्दात छ ।

उक्त ग्यासबाट सात लाख वटा ग्यास सिलिण्डर भर्न पुग्छ”, उनले भने, “आयात निरन्तर भएको छ, उपभोक्ताहरुले खाली सिलिण्डर घरमा राख्दा उद्योगलाई ग्यास भर्न समस्या भएको छ ।”

देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय  बुलेटमा ग्यास राखिँदै आएको उनले जानकारी दिए । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग रहेको खाली सिलिण्डर डिलरमा बुझाउनसमेत आग्रह गरेको छ ।

संघका अनुसार उपभोक्ताले बजारमा आधा ग्यास सिलिण्डर आएको जनाउँदै खाली सिलिण्डर घरमा राखेका कारण सिलिण्डर अभाव भएको छ । गत बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि सिलिण्डर ग्यास भरी आजदेखि सबै ग्यास उद्योगलाई बजारमा ग्यास पठाउन निर्देशन दिएको थियो ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले यही चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्रीवितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्