पूर्वको मुख्य पर्यटकीय शहर इलाम , यसवर्षको नयाँ वर्षमा भने सुनसान

पूर्वको मुख्य पर्यटकीय शहर इलाम , यसवर्षको नयाँ वर्षमा भने सुनसान

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), वैशाख २ गते । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उहाँलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै हुनुहुन्छ ।

नयाँ वर्षमा पर्यटकले खचाखच हुने कन्याम सुनसान छ । स्वदेश तथा विदेशका पर्यटकले रुचाएको इलामको कन्याम नयाँ वर्षमा पूरै सुनसान भएको यो पहिलो पटक हो । पर्यटकले खचाखच हुने कन्याम पर्यटकविहीन बन्दा त्यत्तिकै शान्त पनि छ । चियाको हरियालीले डाँडाकाडा ढपक्कै ढाकेको छ । बिहानै टाप बजार्दै पर्यटकलाई मनोरञ्जन दिन आउने घोडा पनि तबेलामै थन्किएका छन् । घुम्ती पसल बन्द छन् । टेक्ने ठाउँ नहुने कन्याम यतिबेला खाली छ ।

कोरोना विषाणु (कोभिड–१९)को सङ्क्रमणबाट रोक्न गरिएको बन्दाबन्दीका कारण प्रदेश १ कै पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका सबै पर्यटकीय स्थल सुनसान छन् । महिना दिनदेखि यी क्षेत्र सुनसान बन्दा यहाँका होटल तथा पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगिसकेका छन् ।
नेपालका विभिन्न स्थान, भारतीय, बङ्गाली र तेस्रो देशका पर्यटक आउने सूर्योदय नगरपालिकाको कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर गाउँपालिकाको सन्दकपुर, माई पोखरी, ढाप पोखरी, देउमाई नगरपालिकाको पानीटार कुइभीर, माई जोगमाई गाउँपालिकाको थुम्के टङ्लु जस्ता क्षेत्र लामो समय सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् ।

भारतीय बाटो भएर आउने पर्यटकको सङ्ख्या शून्य छ । वनभोज र भ्रमणमा आएका पर्यटकले भरभराउ हुने कन्याम सुनसान भएपछि व्यवसायी लामो समयदेखि घरघरमै थन्किएका छन् ।
कन्याममा एक सय व्यावसायिक ठेला सञ्चालन गर्दै आएका व्यवसायी एक महिनादेखि घरमै छन् । पर्यटक आउन छोडेर व्यवसाय बन्द भएपछि ठेला र घोडा व्यवसायी नगरपालिकालाई बुझाउनुपर्ने करसमेत बुझाउन नसक्ने अवस्थामा पुगेका छन् ।
नयाँ वर्षको समयमा होटल साताअघि नै बुक भइसकेका हुन्थे, यस पटक सबै होटल बन्द गरेर कोरोनाविरुद्ध जुटेका छौँ, होटल व्यवसायी टेकराज गिरीले भन्नुभयो ।

झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजारौँ पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको महिना दिन भइसक्यो । स्थानीय घरबास व्यवसायी रुद्र घिमिरेका अनुसार त्यहाँका घरबास कोरोनाको आनिश्चित कालका लागि बन्द छन् ।
भारतसँग सीमा जोडिएको पशुपतिनगर बजार पनि ठप्प छ । भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ लगायत पश्चिम बङ्गालबाट आएका पर्यटकले खचाखच हुने पशुपतिनगर बजारमा मानिस देख्नै गाह्रो पर्छ ।

तेस्रो देशका पर्यटकको ओइरो लाग्ने प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरसमेत सुनसान भएको छ । गुराँस फुलेर ढकमक्क सन्दकपुर पनि पर्यटकविहीन नै छ । विदेशी पर्यटकले भरिभराउ हुने ३६३६ मिटरको उचाइमा रहेको सन्दकपुर डाँडा पर्यटकविहीन अवस्थामा आफैँ मात्र रमाइरहेको छ । दर्जनौँ हिमालको दृश्य देखिने सन्दकपुर डाँडाका होटल व्यवसायीले प्रायः भारतकै भरमा होटल सञ्चालन गर्दै आएका छन् ।

बन्दाबन्दीका कारण ती क्षेत्रमा खाद्यान्नसमेत अभाव हुन थालेको छ । सन्दकपुर गाउँपालिकाको माई पोखरी, ढाप पोखरी, देउमाई नगरपालिकाको कुइभिर पानीटार, गुफाथुम्की जस्ता पर्यटकीय क्षेत्रको पर्यटन व्यवसायसमेत धराशयी बन्दै गएको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई पर्यटन क्षेत्र उठनका लागि बर्सौं पर्खनुपर्ने बताउनुहुन्छ ।

कोरोनाको महामारीपछि अहिले पर्यटन व्यवसायीसमेत कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारलाई सघाउन खटिइरहेका छन् । होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देव पौडेल र निर्माण व्यवसायी सुमन श्रेष्ठले इलाममा ‘हाम्रो किचन’ सञ्चालन गरेर दैनिक १५० भन्दा बढी असहाय मजदुरलाई १५ दिनदेखि निःशुल्क खाना खुवाउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्