काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए ।
सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको भइसकेको छ ।
डा. देवकोटाले अहिलेसम्म नेपालमा १५ हजार ८०० ओटा परीक्षणहरु गरिएको जानकारी दिए ।
सोअनुसार घाँटीको स्वाबको नमुना परीक्षण छ हजार ८७१ र ‘आरडीटी’बाट आठ हजार ९२९ ओटा परीक्षण भएका हुन् ।
त्यस्तै, काठमाडौंमा ११ सहित ११७ जनालाई ‘आइसोलेसन’मा राखिएको छ । पाँच हजार ६१४ जना ‘क्वारेन्टाइन’मा बसेका छन् ।
१४ जिल्लाबाहेक सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको डा. देवकोटाले बताए ।
पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ‘आरडीटी पोजिटिभ’ देखिएका सबै व्यक्तिहरुको ‘पीसीआर’ परीक्षण पनि गरिने बताए ।
आरडीटीमा पोजिटिभ देखिँदैमा आत्तिनु नपर्ने भन्दै उनले आरडीटीले पोजिटिभ देखाउनु भनेको व्यक्तिलाई कोरोना संक्रमण भएको तर अरुलाई सार्ने अवस्थामा नरहेको हुनसक्ने बताए ।