लकडाउनका कारण इनरुवाका किसान पिडित, तरकारी बारीमै कुहिने अवस्थामा

लकडाउनका कारण इनरुवाका किसान पिडित, तरकारी बारीमै कुहिने अवस्थामा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी लगाएका छन् । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा चार लाख रुपैयाँ ऋण लिएर उनले तरकारी खेती गरेका हुन् ।

आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको उनले बताए । कोभिड-१९ बाट बच्‍न सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी बारीमै कुहिने गरेको मेहता बताउँछन् ।

इनरुवा २ कै रामचन्द्र मेहताले पनि तीन लाख रुपैयाँ छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गरे । उनको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि चिन्ताले सताएको छ ।

उनीहरुजस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकको गुनासो छ ।

लकडाउनका बेला सरकारले बिहान-बेलुका कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्री गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा एक हजार दुई सय बिघामा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताए । कृषकलाई भीडभाड नगरी एउटा-एउटा गरी गाडीमा राखी बिक्री गर्नका लागि छुट दिइएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले बताए । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्