अमर काफ्ले,
इनरुवा, ८ बैशाख । काठमाडौं लगायतका स्थानबाट घर फर्किएका पैदल यात्रुलाई मध्यनजर गर्दै सुनसरीको कोशी ब्यारेज सहित इनरुवामा नास्ता र खानाको प्रवन्ध मिलाइएको छ ।
प्रदेश एकको मुख्य प्रवेश नाका रहेको कोशी ब्यारेजमा उद्योग वाणिज्य संघ इनरुवाले चाउचाउ, बिस्कुट र पानी पिउने प्रवन्ध मिलाएको छ ।
विभिन्न स्थानबाट आएकाहरुलाई ब्यारेजमा प्रहरीले भेला पारेर इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरी गन्तब्यमा फर्काउन थालेसँगै उद्योग वाणिञ्य संघ इनरुवाको टोलीले पैदल यात्रुलाई खानपिनको प्रवन्ध गर्न थालेको हो ।
ब्यारेजमा जम्मा पारिएकाहरुलाई तत्कालीन अवस्थामा भोक प्यास मेटाउन उद्योग वाणिज्य संघले चाउचाउ, बिस्कुट र पानी वितरणको व्यवस्था मिलाएको छ ।
पैदल यात्रुलाई वितरणका लागि उवासंघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह सहितका पदाधिकारीको टोलीले आवश्यक सामान ब्यारेज पुगेर प्रहरीलाई जिम्मा लगाएको छ ।
सुनसरी प्रहरीका अनुसार दैनिक २ सय बढीको संख्यामा पैदल यात्रुहरु ब्यारेज आइपुग्ने गरेका छन् । उनीहरुलाई भेला पारेर गाडीमा राखेर प्रहरीले इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराई गनतब्य फर्किन समन्वय गर्ने गरेको छ ।
इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराएपछि पूनः उद्योग वाणिज्य संघ इनरुवाको टोलीले स्थानीय व्यापारी र व्यवसायीको पहलमा भरपेट खाना तथा नास्ता खुवाउँदै आएको छ । (न्युज २४)