जयकृष्ण यादव
इनरुवा, बैशाख ९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन् । लक डाउन भएसँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लक डाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनीहरु करिब एक महिनादेखि त्यही बस्दै आएका डिएसपी भण्डारीले बताउनुभयो ।
उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको भण्डारीले बताउनुभयो । उनीहरुको द्रुत परीक्षण गरी क्वारेन्टाईनमा राखिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।
केही दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपी नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।