विराटनगर, वैशाख १३ ।
प्रदेश नम्बर १ कोरोनाको केन्द्रबिन्दुमा रहेको छ । कुल ३० जना कोरोना संक्रमित प्रदेश १ बाटै रहेका छन् । प्रदेश १ को उदयपुर , भोजपुर र झापा गरि ३ जिल्लामा हाल कोरोनाका संक्रमित भेटिएका छन् । उक्त संख्या बढ्ने अनुमान गरिएको छ ।
यसकै तयारीको लागि धरानमा एक सय शैय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई एक साताभित्र सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल बनाउन सुरु गरिएको हो ।
पहिलो चरणमा एक सय शैय्यासहितको ‘आइसोलेसन’ कोरोना उपचार केन्द्र निर्माण गरिने अस्पतालले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्लामा रहेका ‘क्वारेन्टाइन’मा एक हजार १६३ जना रहेकोमा ४३ जना ‘डिस्चार्ज’ भएका छन् । ३० जना आइसोलेसनमा छन् । होम क्वारेन्टाइनमा पाँच हजार ३८७ जना छन् ।