माला कर्ण
सप्तरी, बैशाख १५ गते । सप्तरीमा दुई दिनदेखि कोरोना परीक्षण गर्न पसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन) परीक्षणलाई तिव्र पारिएको छ। संक्रमणको जोखिम कम गर्न सप्तरीमा आइतबारसम्म जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ सय ६५ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।
छिमेकी जिल्ला उदयपुर तथा प्रदेश २ कै अन्य विभिन्न जिल्लामा पनि एकपछि अर्को कोरोना संक्रमित थपिदै गएपछि पिसिआर परीक्षणलाई तिव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वय तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरी हालसम्म ३ सय ६५ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको निमित्त नज स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले बताउनुभयो।
गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म कुल ४७ जनाको पिसिआर परीक्षण गरेको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताउनुभयो। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद र आसपासमा फेला परेका संक्रमितहरुमध्ये २ जना सप्तरीको सुरुंगा नगरपालिका–११, (अरहा भजक्का) का स्थायी बासिन्दा भएको फेला परेपछि दुई दिनअघि त्यस क्षेत्रका पनि ५ जनाको स्वाब परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो।
बोदे बर्साइन–५ को चन्द्रा नमुना माविमा १५ महिलासहित १ सय ६१ जनाको स्वाब संकलन गरिएको छ। बोदे बर्साइनका १ सय १३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गाका नगरपालिकाका १२, खडक नगरपालिकाका २, बलान बिहुल गाउँपालिकाका ३ र जडिबुटी बिक्री गर्न सप्तरीका आएका जुम्लाका ३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
आइतबार सप्तकोशी र कञ्चनरुप नगरपालिकामा गरी १ सय ५७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
सप्तकोशी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका ९९ पुरुष र १५ महिला गरी १ सय १४ तथा कञ्चनरुप नगरपालिकाको क्वारेन्टाइनका ३१ र बरमझियास्थित मस्जिदका १२ जनानको स्वाब संकलन गरिएको छ। उनीहरमध्ये १ महिला र ४२ पुरुष रहेको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिनुभएको छ। यसैगरी संकलन गरिएको सबैको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
पिसिआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लामा भिटिएमसहितको प्राविधिकरस्वास्थ्यकर्मीको टोली खटाएको छ। प्रदेशका विभिन्न जिल्लामा गरी १ हजार ५ सय २० जनाको पिसीआर नमुना संकलन गर्ने लक्ष्यसहित टोली खटिएको स्वास्थ्य मन्त्रालयका प्राविधिक फणीन्द्र ज्ञवालीले जानकारी दिनुभयो। सप्तरीमा ३ सय जनाको पिसिआर परिक्षणको अनुमति पाएकोमा ३ सय १८ जनाको स्वाब संकलन भएको उहाँले बताउनुभयो।
यता जिल्लामा कीट लगायतका आधारभूत स्वास्थ्य सामाग्री अभाव भएपछि आरडीटी परीक्षण अवरुद्ध भएको छ। सप्तरीका लागि कुल १ हजार ६० आरडीटी कीट प्राप्त भएको र लगभग सकिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमख यादवले बताउनुभयो।