इलामका किसानको पीडा : चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर

इलामका किसानको पीडा : चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) बैशाख १६ गते ।  चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर ।

यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरेक बर्ष बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरिएको भए पनि यस पटक खल्लो भएको हो । यस पटकको २४ औं राष्ट्रिय चिया दिवस चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामै मनाईएन ।

कोराना भाइरस(कोभिड १९)को महामारी पछि गरिएको लकडाउनका कारण समयमा चिया टिपेर बेच्न नपाएका किसानले त चिया दिवसको पत्तै पाएनन् । दुखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको मूल्य पाउने नपाउने टुंगो छैन् । कतिपय कारखानाले चिया फर्काई दिन्छन त कतिले जोखेर पछि भेटौला भन्छन् । किसानलाई हातलागि केहि पनि छैन । त्यसो त न्यूनतम दैनिक ज्यालादारी , सामाजिक सुरक्षा भत्ता लगायतको माग राखेर मजदुरले गरेको आन्दोलनका कारण गत साल पनि चिया दिवस मनाईएको थिएन ्।

चियाको फस्ट फ्लस(पहिलो टिपाई) गुमाएका किसान र उद्योगी अहिले पनि दोधारमै छन् । एकतिर टिपेको चिया बिकेन , मुल्य पाएनौ भन्ने किसानको गुनासो छ भने अर्को तर्फ लामो समयको बन्दाबन्दीका कारण उद्योगले पेमेन्ट गर्ने अवस्था नरहेको उद्योगीको भनाई छ । सूर्योदय नगरपालिका १० का चिया किसान कमल घिमिरेले चिया टिप्नु बाध्यता भए पनि उपलब्धी शून्य भएको बताउनु भयो । घिमिरेले भन्नु भयो ‘ चिया नटिपौ बोटै बिग्रन्छ, टिपेर बेच्न लैजाऔ पैसा पाईदैन ।’

बन्दाबन्दीका कारण समयमा उद्योग संचालन गर्न नपाए पछि उद्योगीलाई समेत किसानलाई भुक्तानी दिन समस्या छ ।सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले उद्योग संचालनमा घाटा भएपनि किसानहरुको हितका लागि संचालनको विकल्प नभएको बताउनु भयो । तामाङले भन्नु भयो ‘ बिश्व बजारमा जाने चियाको भविश्य नै सखाप भएको छ , किसानको मात्र हैन , सिंगो चियाको भविश्य के हुन्छ भन्न सकिन्न ।’ नेपाल , भारत , युरोप , अमेरीका अस्ट्रेलीया जस्ता देशमा निर्यात हुने चिया अहिले बगान र गोदाममै हुर्की रहेको छ । किसानले चिया टिपे पनि सबै उद्योगले खरिद गरेर प्रसोधन गर्न सक्ने अवस्था छैन् ।

बिगत देखि नै चिया क्षेत्रमा समस्या नदेखिएका भने होईनन । भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ । कहिले गुणस्तर त कहिले प्रेस्टिसाइडको असर देखाएर नेपाली चिया सिमानामा नरोकिएको बर्ष नै छैन । नेपालबाट लगिएको तयारी चियाको कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । नेपालको चिया भारत बाहेक १८ वटा भन्दा बढी देशमा पुग्ने गरेको व्यपार तथा निकासी प्रवद्धन केन्द्रको तथ्यांकले देखाउँछ । तर साना चिया उद्यमीका लागि प्रशोधीत चियाको ९० प्रतिशत बजार भारत नै रहेको चिया तथा कफी विकास वोर्डको विवरणमा उल्लेख छ । नेपालको करिब ८५ प्रतिशत चिया भारत जाने गरेका छ । चियाबिज्ञ चन्द्रभुषण सुब्बाका अनुसार नेपालमा बार्षिक उत्पादन हुने ५० लाख किलो चियामध्ये ८५ प्रतिशत भारत जान्छ ।

चियाको राजधानी मानिएको सूर्योदयन गरपालिकाका प्रमुख रणबहादुर राई तत्काल चिया क्षेत्रमा समस्या देखिए पनि चियाको बजार चाडै उठनेमा आसाबादी भएको बताउनु हुन्छ । उहाले बिहान उठी सक्दा देखि जो कोहीलाई चाहिने चियाको बजार देश भित्रै पनि खोज्नु पर्ने बताउनु हुन्छ ।

इलाम सहित १४ जिल्लामा चिया खेती
इलाम सहित १४ जिल्लामा व्यवसायिक रुपमा चिया खेती हुने गरेको छ । चियामा ९ हजार २ सय ३६ कृषक तथा चिया उत्पादक व्यवसायीहरु आवद्ध रहेका छन् । जसमध्ये ९ हजार १ सय २७ ले व्यक्तिगत रुपमा र एक सय ८ संस्थाहरु संस्थागत रुपमा चिया उत्पादन गर्दै आएका छन् । १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा कुल ११ हजार ४१ वटा बगानहरु रहेको छन् । जसमध्ये इलाममा मात्र ६ हजार ९ सय ९५ वटा रहेका छन ।

चिया क्षेत्रमा ५० हजार बढी मजदूरहरु स्थायी रुपमा काम गर्दै आएका छन । इलामका ९६ प्रतिशत किसानले आफ्नै बारी र ४ प्रतिशतले भाडामा जग्गा लिएर चिया खेती गरेका छन । इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुममा अधिक विस्तार भएको र बाँकी ९ जिल्लामा पनि चिया खेती विस्तार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्