लकडाउनमा यौन हिंसाका घटना पनि बढे

लकडाउनमा यौन हिंसाका घटना पनि बढे

भक्तपुर, वैशाख १८ गते । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाँेडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बाँेडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ । कोरोना भाइरस
(कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौँ पु¥याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् ।
त्यसअघि बर्दियाकी चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका थिए ।

नाता पर्ने बालिकालाई फकाई फुल्याई करणी गरेको आरोप पीडितको छ । नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् ।
यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार करणी सम्बन्धी अपराध मानवीय स्वभावसँंग जोडिएकाले अन्य अपराध भए पनि यौनजन्य अपराध र लागूऔषध कारोबार तथा ओसारपसारका अपराध नियन्त्रण भएका छैनन् ।

बन्दाबन्दीमा सुदूरपश्चिम प्रदेशको कैलाली र प्रदेश–३ को काभ्रेमा सामूहिक करणी जस्तो जघन्य अपराध भएको जानकारी प्रहरीले दिएको छ । लकडाउनको समयमा सबैभन्दा बढी करणी सम्बन्धी अपराध प्रदेश–५ मा भएका छन् । त्यस्तै काठमाडौँमा पाँच, प्रदेश–१ मा १०, प्रदेश–२ मा १०, बाग्मती प्रदेशमा पाँच, गण्डकीमा पाँच, कर्णालीमा आठ र सुदूरपश्चिममा दुईवटा करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । अपराधमा संलग्न अभियुक्त पीडितको आफन्त तथा नातेदार रहेको पाइएको छ ।
मनोविद् कञ्चन कुँवरका अनुसार करणी घटनामा आफन्त तथा नातेदार संलग्न हुनु मानसिक समस्याको उपज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्