टीकाराम उप्रेती
झापा, वैशाख १८ गते । दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंका अनुसार जिल्लाका १५ वटै पालिकाबाट संकलन गरिएको स्वाब पिसिआर परीक्षणमा अधिकांश नेगेटिभ देखिएको छ । संकलन गरिएको स्वाब मध्ये ६२ जनाको नतिजा आउन बाँकी रहेको छ ।
परीक्षण गरिएका मध्ये दमक नपा ३ का ६२ बर्षिय एक पुरुष र बाह्रदशी गाउँपालिका ४ र ५ को सीमा क्षेत्रमा रहेको चकचकी बजारका ५० वर्षीय पुरुषमा पिसिआर पोजेटिभ देखिएको थियो । संक्रमित दुबैजनाको मोरङको विराटनगरस्थित कोशी अस्पतालको काभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । सबै रिपोर्ट आइनसकेका मानिसको हकमा कोरोन्टाइन मा नै राखिएको छ । रिपोर्ट आएपछि भने आवश्यकता अनुसार प्रकृया अघि बढाउने योजना रहेको छ ।
यस्तै जिल्लामा जम्मा ९५० जनाको आरडिटी (¥यापिड डाइनोष्टिक टेष्ट) गरिएको थियो । परीक्षण गरिएका मध्ये ६ जनाको पोजेटिभ देखिएको चम्लागाईंले जानकारी दिनुभयो । पोजेटिभ आएका मध्ये ५ जना दमक नपाका रहेका थिए भने एक जना जिल्लाकै हल्दीवारी गापाका रहेको जनाइएको छ ।
जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिम रहेका मानिसलाई लक्षित गरिएको थियो । यसमा संक्रमण भएको देशबाट आएका मानिसको ट्राभल्स हिस्ट्री र ‘कन्ट्याक्ट ट्रेसिङ, अध्ययन गरेर परीक्षण गरिएको जनाइएको छ । जिल्लामा गत चैत २८ गतेदेखि परीक्षण अघि बढाइएको थियो ।
जिल्लाको दमक नपामा संक्रमण देखिएपछि सिल गरिएको वाड नं ३ लाई समेत अन्य सम्भावितको परीक्षण नेगेटिभ आएपछि खुकुलो बनाइएको छ ।
जिल्लाको १ सय ४४ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले भारतबाट आउने जोखिमलाई मध्यनजर गर्दै विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी उदय रानाले बताउनुभयो । अधिकांश सीमा क्षेत्रमा तत्काल अस्थाई सुरक्षा पोष्ट स्थापना गरेर समेत कडा बनाइएको छ ।